दर्पण छायाँ’ को सिक्वेल उत्तमले निर्देशन गर्ने
Published: (Updated: )
by .दुई दशक अगाडि प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको करिअरका लागि माइलस्टोन सावित भएको थियो । आजका दिन पनि उनीहरुले अभिनय गरेका फिल्मको नाम लिनु पर्दा ‘दर्पण छायाँ’ पहिलो नम्बरमा आउँछ । यसमा उनीहरुको केमेस्ट्री र अभिनय दर्शकहरुले अत्याधिक रुचाएका थिए ।
नाम नै ब्रान्ड बनेको यो फिल्मको निर्देशक घिमिरेले चार वर्षअघि ‘नेम सिक्वेल’ समेत निर्माण गरेका थिए । तर, फिल्मले ‘दर्पण छायाँ’ को साखलाई जोगाउन सकेन । अब दुई दशकपछि निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीले मिलेर ‘दर्पण छायाँ’ को सिक्वेल निर्माण गर्दैछन् । कोरोना महामारीपछि छायांकन सुरु हुने फिल्मका लागि अभिनेता प्रधानले स्क्रिप्ट लेखिरहेका छन् ।
‘दर्पण छायाँ’ जहाँ अन्त्य भएको थियो, त्यहीबाट सिक्वेल सुरु हुनेछ । फिल्मको नाम ‘दर्पण छायाँ पछि’ राखिएको छ । यसअघि फिल्मको निर्देशन तुलसी घिमिरेले गर्ने खबर बाहिरिएको थियो । तर, उनले ‘दर्पण छायाँ’ को सिक्वेल निर्देशन नगर्ने भएका छन् । अभिनेता उत्तम प्रधान आफैंले स्क्रिप्टसँगै फिल्म निर्देशनको अभिभारा लिएका छन् । फिल्ममा उनको अभिनय पनि रहनेछ ।
उनका अनुसार, फिल्मको स्क्रिप्टमा निर्देशक घिमिरेले सघाएका छन् । उत्तमले भने‘फिल्मको निर्देशक मैले नै गर्दैछु । कलाकारमा म, दीलिप र निरुता हुनेछौं । ‘दर्पण छायाँ’ जहाँ सकिएको थियो, त्यहीबाट २० वर्षपछिको कथालाई जोडिनेछ ।’ अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको अभिनेता प्रधानले बताए । उनी फिल्मलाई राम्रो बन्नेमा विश्वस्त छन् ।
Comments