Sajhamanch Archive

‘यो बेला अनशन सुहाउँदो विषय होइन’

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सरकारले चिकित्सा शिक्षा सुधारको माग राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

बिहीबार सरकारको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताए ।

‘एकातिर चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनु भएको छ । यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र पक्कै पनि होइन’ मन्त्री ज्ञवालीेले भने ।

उनले डा. केसीका धेरै माग पूरा भइसकेको र पूरा गर्न बाँकी विषयमा पछि छलफल गर्न सकिने बताए ।

‘केही विषय बाँकी छ भने पछि छलफल गर्न सकिन्छ । मेरो नेपाल सरकारको तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरुलाई आग्रह छ । अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिड विरुद्धको लडाईंमा जोडियौं । जनतालाई महामारीबाट जोगाउऔं, बाँकी विषय त हामी समय क्रममा छलफल गर्दै जान सक्छौं’ मन्त्री ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीले डा. केसीले राखेका धेरै माग पूरा भइसकेको पनि जिकिर गरे । सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने माग पूरा हुने क्रममा रहेको र पीसीआर टेस्टको दायरा बढिसकेको उनले बताए ।

अहिले यस विषयमा सरकारलाई थप दबाब दिन जरुरी नरहेको पनि मन्त्री ज्ञवालीको दावी छ । ‘अन्य विषयमा साधन स्रोतले भ्याएसम्म सरकारले हरसम्भव प्रयत्नहरु गरिरहेको छ’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *