यो ‘फास्टफुड’ पुस्ता खाना मात्र होइन, अरु सबै कुरा फटाफट हात लाग्नुपर्छ भन्ने मान्यता राख्छन् । मानौ उनीहरु तिब्रतासाथ बेग मारिरहेको बुलेट ट्रेनमा शयर गरिरहेका छन् र यो गतिशिलतासँग उनीहरुले आफ्नो लय समातेका छन् । थोरै रोकिएमा उनीहरुको जीवनको ट्रेन छुट्नेछ ।
यो पुस्ता थोरै समयमा धेरै भन्दा धेरै उपलब्धी हासिल गर्ने दौडमा छन् ।
आखिर उनीहरु किन हतारमा छन् ? उनीहरुमा यस्तो प्रवृत्तिको विकास कसरी भयो ?
यसमा धेरै हदसम्म आज उपलब्ध उपकरण, इन्टरनेट जिम्मेवार छन् । जति–जति उपकरण उपलब्ध हुँदैछन्, त्यसले हाम्रो काम छरितो बनाइदिएको छ । यस्ता उपकरणहरुको प्रयोगबाट कुनैपनि काम तुरुन्तै फत्ते गर्न संभव भएको छ । आज सामान्य जोड घटाउन गर्न पनि क्याल्कुलेटरको सहयोग लिइन्छ । इन्टरनेट र सर्च इन्जिनहरुले त यस्ता कामलाई अरु तिब्र र छरितो बनाइदिएको छ ।
आज कुनै कुराको जानकारी चाहिएमा कसैलाई सोधीखोजी गरिरहनु पर्दैन । पुस्तक पल्टाउनु पर्दैन । गुगलमा सर्च गर्नसाथ त्यससँग सम्बन्धित हजारौं नतिजा हात लाग्छ, त्यो पनि निमेषभरमै । आफुलाई कुनै गीत सुन्न मन लाग्यो, युट्युब हाजिर छ । मुड फ्रेस गर्नुप¥यो, भिडियो गेमदेखि रमाइला सामाग्रीहरु सहजै उपलब्ध छ । संसारमा भइरहेका गतिविधिहरु प्नि क्षण–क्षणमै अपडेट हुन्छन् । यस्तै प्रविधि र माध्याममा एकाकार भइरहेका आजका युवापुस्ता अरु कुराहरुमा पनि यसरी नै छिटो–छरितो नतिजा प्राप्त होस् भन्ने अपेक्षा राख्छन् ।
यही अपेक्षाका कारण अहिलेका पुस्ता र अभिभावकबीच तालमेल मिलिरहेको हुँदैन । छोराछोरीको बढ्दो अपेक्षा आमाबुवाले पुरा गर्न समर्थ हुँदैनन् । नतिजा, छोराछोरी बुवाआमाबाट टाढिने वा कुलतमा फस्ने सम्मका खतरा बढ्दैछ ।
कुनैपनि कुरामा सफलता हासिल गर्न संघर्ष, लगाव र धैर्यता जरुरी छ । इन्टरनेटमा र्सच गर्नसाथ प्राप्त हुने नतिजा जस्तो जीवनमा सबै कुरा फटाफट हासिल हुँदैन । त्यसका लागि कठिन संघर्ष, निरन्तर प्रयस र धैर्यता जरुरी हुन्छ ।
सन्त कविर भन्छन्,
‘धीरे–धीरे मना, धीरे सब कुछ होया
माली सींचे सौ घडा, ऋतु आए फल होया
अर्थात धैर्यता राख्नाले सबैकुरा मिल्छ । यदि कुनै मालीले कुनै रुखमा सय गाग्री पानीले सिचाई गर्छन् । तब ऋतु आएपछि त्यसको फल फल्न थाल्छ । भनिन्छ, धैर्य, दृढता र श्रम सफलताका लागि अपरिहार्य छ ।
Comments