Sajhamanch Archive

बिओपीका लागि खटिने सशस्त्र प्रहरीको टोली गोलातर्फ प्रस्थान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

ताप्लेजुङ । ताप्लेजुङका उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकामा आउँदो २१ गते आउट बोर्डर पोष्ट (बिओपी) स्थापना हुने भएको छ।

सशस्त्र प्रहरीका निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा २१ जना सशस्त्र प्रहरीको टोली फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलातर्फ प्रस्थान गरेको छ। सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र डिएसपी रवीन्द्र श्रेष्ठका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको मौवाटारमा बस्ने बिओपी तत्कालका लागि ओलाङ्चुङगोलामै रहने छ।

बिओपीका लागि बन्ने संरचनाको डिपीआरको तयार भइ अब पूर्वाधार निर्माणको क्रम सुरु भएको र यसको निर्माण कार्य पूरा भएपछि मात्रै बिओपी गोलाबाट मौवाटारमा स्थानान्तरण हुने भएको छ। तत्कालका लागि बिओपी टोली ओलाङ्चुङगोलामा रहेको सामुदायिक भवनमै बस्ने गुल्मपति श्रेष्ठले जानकारी दिए। सशस्त्र प्रहरीको प्रदेश नं १ मुख्यालयले यो बर्ष भित्रै प्रदेशभरीमा स्थापनाका लागि स्वीकृत सबै स्थानमाहरुमा बिओपी स्थापना गरिसक्ने लक्ष्य लिएको छ।

१ नं प्रदेशमा बिओपी स्थापनाका लागि अहिले २४ स्थान स्वीकृत छन्। लक्ष्य अनुसार असोज २१ गते ताप्लेजुङको मौवाटारमा स्थापना हुने बिओपी अस्थायी रुपमा ओलाङचुङगोलामा स्थापना गरिने सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका १ नं प्रदेश प्रमुख बाहिनीपति (डिआइजी) बंशीराज दाहालले यसअघि नै प्रदेशभरीका अधिकांश बिओपी स्थापना हुने क्षेत्रका सरोकारवालासँग एकचरणको छलफल तथा परामर्श गरिसकेका छन्।

स्रोत : नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *