Sajhamanch Archive

प्लाज्मा बैंकलाई एकका लागि एक अभियानको ११ लाख सहयोग

Published: in लोकप्रिय, समाज, स्वास्थ्य by .

बिर्तामोड । एकका लागि एक अभियानले प्लाज्मा बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी झापालाई ११ लाख प्रदान गरेको छ ।

पिसिआर ल्याबको सफल निर्माणपछि कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी गर्न स्थापना गरेको बैंकलाई सो रकम अभियानले दिएकोे हो । आजैदेखि सञ्चालनमा आएको बैंकमा तीनजनाले प्लाज्मा दान गरेका छन् ।

सोमबार अभियानले रेडक्रसको रक्त सञ्चार केन्द्र बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच ११ लाख रुपैयाँको डमी चेक हस्तान्तरण गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार बैंक स्थापनाका लागि लाग्ने करिब २० लाख रुपैयाँमध्ये अभियानले ११ लाख सहयोग गरेको हो । रेडक्रसले असोज १० गतेदेखि बैंक सञ्चालन गर्दै आएको छ ।

ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना प्रहरी प्रमुख कृष्ण कोइराला, सशस्त्र प्रमुख रमेशकुमार पाण्डे, नेपाली सेनाका कर्नेल अमरजंग थापा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतका अभियानका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभियानका संयोजक महेन्द्रकुमार गिरीले कोरोना भाइरससँग सम्बन्धित कुनै काम गर्नु परे अभियान त्यसका लागि तयार रहेको बताए । संयोजक गिरीका अनुसार पिसिआर ल्याबको सफल निर्माणपछि संक्रमित गम्भीर बिरामीका लागि प्लाज्मा थेरापी गर्न प्लाज्मा बैंक स्थापनामा अभियानले सहयोग गरेको हो ।

अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानको स्थापना र हालसम्म गरिएका काम बारे प्रकाश पारेका थिए । अभियानले यसअघि कनकाई नगरपालिका वडा नं.४ स्थित कोटीहोममा कोरोना भाइरस परीक्षण पिसिआर प्रयोगशाला स्थापना गरेर सरकारलाई बुझाइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *