Sajhamanch Archive

घुमफिरमा नम्रता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

लभर गर्लको भूमिकामा सर्वाधिक रुचाइएकी अभिनेत्री नम्रता श्रेष्ठ फिल्म छनौटमा चुजी मानिन्छिन् । आफ्नो भूमिका र स्क्रिप्ट बलियो भएको खण्डमा मात्र उनी फिल्म गर्न राजी हुन्छिन् । वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने उनी ‘मेरो एउटा साथी छ’ को सफलतापछि लभस्टोरी फिल्ममा पहिलो रोजाई बन्न थालेकी थिइन् । अहिले उनलाई महंगी अभिनेत्री समेत भन्ने गरिएको छ ।

अभिनेत्री श्रेष्ठ पछिल्लो पटक आफैंले निर्माण गरेको फिल्म ‘जाइरा’ मा देखिएकी थिइन् । यसमा उनी मार्सल आर्टस् खेलाडीको भूमिकामा थिइन् । फिल्ममा आफ्नो चरित्रलाई न्याय दिन उनले जीवनमा कहिल्यै नकाटेको कपाल समेत मुण्डन गरेकी थिइन् । यो उनको ठूलो त्याग थियो । तर, फिल्मले बक्सअफिसमा घुँडा टेक्यो । सिर्फ उनले फिल्मका लागि गरेको मिहेनतको प्रशंसा भयो ।

‘जाइरा’ रिलिजको झण्डै एक वर्ष नयाँ फिल्म साइन गरेकी उनले लकडाउनको समयमा आफैंले अभिनय गरेको फिल्म ‘प्रसाद’ को सिक्वेलका लागि सम्झौता गरेकी छन् । कोरोना महामारीपछि छायांकन सुरु हुने फिल्ममा नम्रताले फेरि एकपटक अभिनेता विपिन कार्कीसँँग अनस्क्रिन रोमान्स गर्नेछिन् । यो फिल्ममा काम गर्नका लागि उनले ह्यान्डसम रकम बुझेको फिल्मवृतमा चर्चा छ ।

कोरोनाका कारण देश लकडाउन भएपछि घरभित्र सीमित भएकी नम्रता निषेधाज्ञा खुकुलो भएसँगै देशभित्रका पर्यटकीय स्थलको भ्रमणमा निस्किएकी छन् । उनले हिमाली क्षेत्रमा रमाएका तस्विरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा साझेदार गर्दै ती क्षेत्रको सुन्दरताको बयान गरेकी छन् । सोमवार उनी सोलुखुम्बु जिल्लामा अवस्थित गोक्यो तालको सुन्दरता निहाल्न पुगेकी थिइन् ।

सेप्टेम्बर ११ तारिखमा हेलिकप्टरमार्फत् लुक्ला एयरपोर्टमा ओर्लिएकी उनी प्रेमी दावा स्टीभन शेर्पाको साथमा घुम्नका लागि निस्किएको बुझिएको छ । तर, नम्रताले सामाजिक सञ्जालमा प्रेमी शेर्पासँगका तस्विर भने शेयर गरेकी छैनन् । कोरोना भयका कारण ६ महिना घरको चारकुनामा सीमित हुँँदा छट्पटिएकी उनलाई हिमाली क्षेत्रको प्राकृतिक सुन्दरताले मन्त्रमुग्ध बनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *