Sajhamanch Archive

प्रधानमन्त्रीलाई उपभोक्ता हित संरक्षण मञ्चको ज्ञापनपत्र

Published: (Updated: ) in लोकप्रिय, समाज by .

बिर्तामोड । उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश समितिले आज झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

उपभोक्ता हकहित तथा अधिकारसँग सम्बन्धित विभिन्न १६ बुँदामा सरकारको ध्यानाकर्षण गराउँदै मञ्चले प्रजिअ श्रवणकुमार तिमिल्सिनामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणमा सरकारको ध्यान जानुपर्ने भन्दै मञ्चले छुट्टै आपूर्ति तथा उपभोक्ता हित संरक्षण मन्त्रालय स्थापना गर्न माग गरेको छ ।

उपभोक्ता मर्काका विरुद्ध गुनासो व्यवस्थापन गर्न अधिकार सम्पन्न उपभोक्ता संरक्षण आयोगको माग पनि अघि सारिएको मञ्चका प्रदेश सदस्य याम बिमलीले बताए ।

मञ्चले प्रदेश तथा स्थानीय तहमा सुपथ मूल्यका पसल स्थापना गर्न स्रोत र साधनको व्यवस्थापनका लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ । सामानको मूल्यमा उपभोक्ता ठगिने गरेको जनाउँदै मञ्चले अधिकतम खुद्रा बिक्री मूल्यको प्रभावकारी अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।

ज्ञापनपत्र मार्फत तरकारी तथा खाद्यवस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालाको स्थापना गर्न पनि माग गरिएको छ । छुट्टै उपभोक्ता अदालत गठन र उपभोक्ताका मुद्दाको सुनुवाई गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको उपभोक्ता हित संरक्षण मञ्च प्रदेश १ नं. का अध्यक्ष ओमभक्त सेढाईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *