Sajhamanch Archive

सङ्क्रमित बढेसँगै बेड अभाव सुरु भयो : सरकार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै शय्या (बेड) अभाव हुन थालेको बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले सङ्क्रमितहरुले पायक पर्ने अस्पतालमा शय्या पाउन छाडेको र काठमाडौं उपत्यकाको भार अत्यधिक भएको बताए ।

केही दिन यही दरमा सङ्क्रमित बढेमा उपत्यकाको भार थाम्न नसकिने भन्दै उनले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छन् । कोरोना जनस्वास्थ्यको ठूलो समस्या रहेको भन्दै उनले सबैको पहलबाट मात्र यो सङ्कट टार्न सकिने बताए ।

अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना बिर्सिएको जस्तो लागेको भन्दै प्रवक्ता डा. गौतमले चाडपर्व खल्लो नबनाउन आफू पनि सङ्क्रमण हुनबाट बच्न र परिवारलाई पनि बचाउन सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताए ।

यस्तै मन्त्रालयले सामान्य ज्वरो तथा रुघाखोकी आउँदा अस्पताल नजान भनेको छ । अस्पतालमा उपचार गर्ने ठाउँ तथा जनशक्तिको अभाव तथा अस्पताल जाँदा भिडभाड भएर त्यहाँबाट कोरोना सर्न सक्ने भन्दै मन्त्रालयले श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस हुने सङ्केत देखिएमा र पिसाब नआएमा मात्र अस्पताल जान आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *