Sajhamanch Archive

मेची प्रादेशिक अस्पतालबाट भागेका कोरोना संक्रमित थुनुवा समातिए

Published: (Updated: ) in समाज, स्थानीय तह by .

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट भागेका कोरोना संक्रमित थुनुवा समातिएका छन्‌।

उपचार केन्द्रबाटै कोरोना संक्रमित थुनुवा फरार भएको घटना थाहा पाएसँगै झापा प्रहरीले उनलाई १४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको हो। २७ वर्षीय ती संक्रमित थुनुवालाई प्रहरीले मंगलबार बिहान ३ बजे अर्जुनधारा नगरपालिकाको शनिश्चरेबाट पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

सोमबार १ बजे कोभिड १९ उपचार केन्द्रबाट ती संक्रमित थुनुवा फरार भएका थिए। नेपाली सेनाले समेत बाहिरी सुरक्षा प्रदान गरेको उपचार केन्द्रबाटै थुनुवा फरार भएपछि सोमबार दिनभरि प्रहरीले तनाव झेल्नुपरेको थियो। संक्रमित थुनुवालाई पक्राउ गर्न प्रहरी कार्यालय झापाले जिल्लाभर व्यापक प्रहरी परिचालन गरेको थियो।

स्वास्थ्य सुरक्षाका मापदण्ड समेत अपनाएर पक्राउ गरिएका ती युवकलाई पुनः उपचारका लागि कोभिड १९ उपचार केन्द्र पठाइसकेको डिएसपी थापाले बताए । प्रहरीले केही दिन अघि बिर्तामोडबाट लागु औषधसहित चार जना युवकलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको थियो।

प्रहरी हिरासतमा बसेका चारै जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूलाई उपचारका लागि कोभिड १९ उपचार केन्द्र भद्रपुर पठाइएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *