कोरोना बढेपछि कार्तिक ६ सम्म नगर र वडा बन्द
Published:
by .पथरीशनिश्चरे । जनप्रतिनिधि, स्वास्थ्य सहितका नगरका कर्मचारीमा समेत कोरोना संक्रमण बढदै गएपछि मोरङको पथरी शनिश्चरे नगरपालिका र वडा कार्यालयहरु आज शुक्रबारबाट कार्तिक ६ गतेसम्मका लागि बन्द गरिने भएको छ ।
कोरोना भाइरस जोखिम न्यूनीकरण नगरस्तरीय समन्वय समिति र पथरी शनिश्चरे नगर कार्यपालिकाको विहीवारको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको नगर प्रबक्ता यामप्रसाद गुरागाइले जनाए । उनले नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्बर वडाको शहरी स्वास्थ्य केन्द्रको सेवा समेत अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको बताए ।
कार्यालयको अत्यावश्यक सेवा र स्वास्थ्य सस्थाबाट दैनिक औषधि सेवन गर्नेका लागि औषधि वितरणको प्रबन्ध गरिने छ । ती कार्यालयमा कार्यरत कर्मचारीहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि रिपोर्टका आधारमा कार्यालय के कसरी सञ्चालन गर्ने भन्ने निर्णय हुने उल्लेख छ । दैनिक तथा साप्ताहिक हाट बजार समेत बन्द गर्ने निर्णय भएको छ ।
समन्वय समिति संयोजक एवम नगर प्रमुख दिलीपकुमार राइको अध्यक्षतामा बैठक बसेको थियोे । बैठकमा अध्यक्ष राइले कोरोना सन्क्रमितहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरवासीलाइ अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
वडाध्यक्ष सहितका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारी तथा समुदायका समेत गरी विहीवार ८ जनामा कोरोना देखिएपछि आकस्मिक बैठक बसेर अनिवार्यरुपमा भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुन पानीले हात धुन र सेनिटाइजर लगाउन अनुरोध गरिएको हो । १२ बर्ष मुनीका बालबालिका र ज्येष्ठहरुलाई थप सतर्क बन्न समेत अनुरोध छ । स्वास्थ्य सतर्कताको सूचना प्रवाह गर्न भोलि बिहान माइकिङ गरिने भएको छ । बुधबारमात्र नगरका कर्मचारी सहित ९ जनामा कोरोना भाइरस देखिएको थियो ।
हालसम्म जनप्रतिनिधि, स्वास्थ्य सहितका नगरका कर्मचारी र समुदायका गरि ४३ जना, क्वारेन्टिनमा रहेका १६ जना र बाहिरबाट संक्रमीत भएका समेत नगरका कुल ७२ जनामा कोरोना देखिएको छ ।
Comments