मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा
Published: (Updated: )
by .कोरोनाका कारण सात महिनादेखि ठप्प रहेको नेपाली फिल्म क्षेत्र अब भने चलमलाउन थालेको छ । सरकारले फिल्म निर्माण र प्रदर्शनमा लगाएको प्रतिबन्ध फुकुवा नगरे पनि अहिले केही फिल्मको छायांकन भइरहेको छ । त्यस्तै, फिल्म घोषणाको कार्यक्रम पनि आयोजना हुन थालेका छन् । कोरोना महामारीपछि दोस्रो पटक एक कार्यक्रमका बीच नयाँ फिल्म घोषणा गरिएको छ ।
शनिवार लाजिम्पाटस्थित सम्पदा होटलमा सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धि सावधानी अपनाएर फिल्म ‘भाँडाकुटी’ घोषणा गरियो । फागुनबाट छायांकन सुरु हुने फिल्मलाई किरण विकले निर्देशन गर्दैछन् । फिल्ममा मुकुन भुषाल र बेनिशा हमालको जोडी बाँधिएको छ । महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदीलगायतको पनि फिल्ममा अभिनय रहनेछ ।
२०७८ सालको सुरुवातमा प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मले चारवटा कथा भन्नेछ । ती चारवटै कथा विवाह सम्बन्धि रहेको निर्देशक विकले बताए । स्क्रिप्ट लेखनमा उनलाई आचार्य गोपालले सघाएका छन् । बुटवललाई पुष्ठभूमिमा राखेर खिचिने फिल्ममा राजकुमार दर्जीको कोरियोग्राफी रहनेछ । अष्ट्रेलियामा बस्दै आएका कलम खड्काले फिल्मको निर्माण गर्न लागेका हुन् ।
‘बुलबुल’ मा चोपेन्द्रको भूमिकामा गरेको अभिनयपछि चर्चामा आएका मुकुन भुषालले ‘भाँडाकुटी’ ले बाल्यकालको याद ताजा गर्ने बताए । आफ्नो भूमिका, स्क्रिप्ट र टिम राम्रो लागेका कारण काम गर्न राजी भएको उनको भनाई छ । त्यस्तै, अभिनेत्री बेनिशाले स्क्रिप्टले आफूलाई आकर्षित गरेको बताइन् । उनले फिल्म ‘घर’ रिलिज एक वर्षपछि नयाँ फिल्ममा काम गर्न लागेकी हुन् ।
Comments