चौरसियाको मृत्युमा दोषी जोसुकै भए पनि कारबाही गर : प्रचण्ड
Published:
by .काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
उनले आइतबार विज्ञप्ति निकालेर दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण समारोहमा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका मुकेशको भोलिपल्ट मृत्यु भएको छ ।
यसअघि नेकपाको पर्सा जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवले विज्ञप्ति निकालेर चौरसियालाई शहीद घोषणा गर्न र हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए । प्रचण्डले आफू नेकपाको केन्द्रीय कार्यकारी अध्यक्षको हैसियतमा जिल्ला कमिटीको वक्तव्यलाई समर्थन गर्ने बताएका छन् ।
हत्याको घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै प्रचण्डले कारबाही अघि बढाउन माग गरेका छन् । ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’ प्रचण्डले भनेका छन् ।
Comments