Sajhamanch Archive

प्रहरी र स्थानीयबीच झडप, गोली लागेर एक बालक गम्भीर घाइते

Published: in मिडियाबाट साभार, समाज by .

बारा । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग झडप हुँदा तीन प्रहरी र एक बालकसहित चारजना घाइते भएका छन् ।

प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएको जानकारी दिए ।

स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री गर्ने क्रम चलिरहेको थियो । बुधबार राति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्र नजिकै रहेको नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लियो । त्यसपछि थप स्थानीयसमेत आएर प्रहरीहरुमाथि आक्रमण गरी प्याज लगेर गएको प्रहरी उपरीक्षक पंगेनीले बताए ।

उनका अनुसार प्रहरीले स्थिति नियन्त्रणका लागि १२ राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका बालकको अवस्था गम्भीर छ । उनको टाउकोमा गोली लागेको छ ।

                                                                                                                        अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *