Sajhamanch Archive

के दीपकराज र निश्चलबीच टिमअप हुँदैछ ?

Published: in गीत/संगीत/मनोरञ्जन by .

कोरोना भाइरसका कारण आठ महिनादेखि फिल्म क्षेत्र सुनसान छ । सिनेमा हलको गेटमा ताल्चा झुण्डिएको छ । निर्माण सम्पन्न भएका फिल्म कम्प्यूटरको हार्ड डिस्कमा थन्किएका छन् । निर्माणको तयारीमा रहेका फिल्म सरकारको अनुमति कुरेर बसेका छन् । सरकारले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध फुकुवा नगर्दा फिल्म क्षेत्र अब कसरी अगाडि बढ्ला भन्ने अन्योलको स्थिति छ ।

सरकारले फिल्म निर्माण र प्रदर्शन खुल्ला गरेपछि फिल्म क्षेत्रलाई चलायमान बनाउन ठूला मेकरबीच सहकार्य हुनुपर्ने र ठूला स्टारले शेयरमा काम गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा फिल्म क्षेत्रका बलशाली मेकरको रुपमा कहलिएका दीपकराज गिरी र ‘लुट’ पछि नेपाली फिल्ममा कथा भन्ने शैली नै परिवर्तन गरेका निश्चल बस्नेतबीच नयाँ फिल्ममा सहकार्यको चर्चा चलेको छ ।

शुक्रवार काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टमा दीपकराज र निश्चलसँगै निर्देशक दीपाश्री निरौला र अभिनेत्री स्वस्तिमा खड्काबीच विशेष भेटघाट भएको थियो । त्यहाँ उनीहरुले एकसाथ डिनर पनि गरेका थिए । स्वस्तिमा र दीपाश्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा गोकर्ण रिसोर्ट घुमेका र कुराकानी गर्दै डिनर गरेका तस्विर तथा भिडियो क्लिप्सहरु शेयर गरेका छन् ।

दीपकराज र निश्चलको यो भेटघाटलाई फिल्मकर्मीहरुले विशेष रुपमा लिएका छन् । नयाँ प्रोजेक्टमा सहकार्यका लागि उनीहरुबीच भेटघाट भएको हुनसक्ने कतिपयको आँकलन छ । यद्यपि, उनीहरुबीच कुन शिलशिलामा भेटघाट भएको थियो, त्यो भने खुलेको छैन । यो अवस्थामा यी दुई ठूला मेकरबीच टिमअप हुन सकेको खण्डमा नेपाली फिल्म क्षेत्रका लागि निकै फाइदाजनक हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *