एक सातामै प्रदेश १ मा सवारी दुर्घटनाबाट १४ जनाको मृत्यु
Published:
by .इटहरी। पछिल्लो एक सातामै प्रदेश १ मा सवारी दुर्घटनाबाट १४ जनाले ज्यान गुमाएका छन् । कात्तिक ७ गतेदेखि १५ गतेको अवधिसम्म प्रदेश १ भरि १४ जनाले दुर्घटनाबाट ज्यान गुमाएका हुन् । सबैभन्दा बढी सुनसरी र मोरङमा दुर्घटना भएका छन् । यस अवधिमा मोरङमा १७ र सुनसरीमा १२ वटा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रदेश १ भरि ४५ वटा दुर्घटना हुँदा १० पुरुष र ४ महिलाले ज्यान गुमाएका छन् ।
जसमा सुनसरीमा ३ जना, झापामा २ जना मोरङमा ६ जनाले दुर्घटनाका कारण अकालमै ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता सुमन तिम्सिनाले बताए । त्यस्तै दशैंको अवधिमा खोटाङमा ३ जनाले ज्यान गुमाएको प्रवक्ता तिम्सिनाले जनाए । प्रदेशभरि ५९ जना मानिस घाइते बनेका छन् । टाइम कार्ड लागू गरेका कारणले दुर्घटनामा केही कमी आएको ट्राफिक प्रहरी बताउँछ । तर, गत वर्षको दशैंको समयमा १३ जनाको दुर्घटनाबाट मृत्यु भएको थियो ।
साढे ४ हजार सवारी कारबाही
यो वर्षको दशैंमा सवारी नियम उल्लङ्घन गर्ने ४ हजार ६ सय ७९ वटा सवारी कारबाहीमा परेका छन् । सबैभन्दा धेरै सुनसरी, मोरङ र झापाका सवारी कारबाहीमा परेका हुन् । सुनसरीमा १ हजार २ सय १४ वटा सवारीलाई कारबाही गरिएको छ ।
त्यस्तै झापामा ८ सय ३ सवारी कारबाहीमा परेका छन् । मोरङमा १ हजार १ सय ८८ वटा सवारी कारबाहीमा परेका छन् । दशैंमा मात्र २ लाख ८२ हजार ८ सय जरिबाना उठाएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । सबैभन्दा धेरै राजश्व सुनसरीबाट उठेको छ । सुनसरीबाट ७ लाख ५ हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
झुम्काको दुर्घटनामा २ जनाको मृत्यु
सुनसरी रामधुनी–२ शिवनगर स्थित भित्री सडक–खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाइकल पछाडि सवार रहेका सोही स्थानका २३ वर्षीय जीवन चौधरी रहेका छन् ।
शनिबार राति साढे ८ बजे को.२६ प ५६५१ नम्बरको मोटरसाइकल साइडमा रोकिराखेको को.२ त ९८७६ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक निमेश र पछाडि सवार जीवन गम्भीर घाइते भएका थिए । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ब्लास्टखबर
Comments