कर्णाली सहकारीद्वारा मृतक शेयर सदस्यको चार लाख बढी ऋण मिनाहा
Published: (Updated: )
by .दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मृत्यु भएका आफ्ना शेयर सदस्यको साढे ४ लाख रुपैयाँ कर्जा मिनाहा गरेको छ ।
कर्णाली साकोस दमक सेवा केन्द्र अन्तर्गतका सदस्य दमक वडा नम्बर ३ ढुकुरपानी निवासी दिलिपकुमार कार्कीको मृत्यु भएको १०औं दिनको पुण्य तिथिमा सहकारीको टोलीले कार्कीको घरमै पुगेर बाँकी कर्जा रकम मिनाहाको पत्र हस्तान्तरण गरेको हो । कार्की परिवारलाई किरिया खर्च वापत ६ हजार रुपैयाँ पनि उपलब्ध गराएको छ ।
संस्थाका उपाध्यक्ष ईस्वरीप्रसाद खरेलको नेतृत्वमा गएको सहकारीको टोलीले कार्कीले सहकारीबाट कर्जा लिएर तिर्न बाँकी साँवा ब्याजसहित चार लाख ४४ हजार ६० रुपैयाँ रकम मिनाहा गरेको दमक सेवा केन्द्र प्रमुख सुजन भण्डारीले जानकारी दिएका छन् ।
सहकारीका शेयर सदस्यको निधन भएमा उनले लिएको कर्जा रकम मिनाहा गर्ने संस्थाको नियमअनुसार सो रकम मिनाहा गरिएको सहकारीका कर्जा विभाग प्रमुख मनहरि निरौलाले जानकारी दिए । त्यसैगरी कार्कीको किरिया खर्च बापत ६ हजार रुपैयाँसमेत सहकारीका तर्फबाट उपलब्ध गराइएको थियो ।
मृतक कार्कीको घरमा सहकारीका कोषाध्यक्ष एकराज विष्ट, दमक सेवा केन्द्र सञ्चालन समिति सदस्यहरु गिरिराज भट्टराई, मुकुन्द उप्रेती, मोहन सिवाकोटीसहित सहकारीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
यसैगरी दमक सेवाकेन्द अन्तरगतका सदस्य शोभा बस्नेतको छोरा रबिन बस्नेतको असामयिक निधनको छैटौँ दिनको पुण्य तिथिमा संस्था परिवारका तर्फबाट समवेदना व्यक्त गर्दै काजकिरिया खर्च वापत ५ हजार रुपैयाँ प्रदान गरिएको सेवाकेन्द्र प्रमुख भण्डारीले बताएका छन् ।
Comments