Sajhamanch Archive

अमेरिकी राष्ट्रपति निर्वाचन : ४३ राज्यको नतिजामा बाइडेन अगाडि

Published: in विश्व समाचार by .

काठमाडौं  । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

५० मध्ये ४३ राज्यको नतिजामा बाइडेन अगाडि छन् । चुनावको अन्तिम नतिजा आउन बाँकी छ । कूल ५३८ इलेक्टोरल सिटमध्ये बाइडेनले २४३ र ट्रम्पले २१४ सिट प्राप्त गरेका छन् ।

जितका लागि २७० सिट आवश्यक पर्छ । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा बाइडेनले जित हात पारेका छन् । एरिजोना र नेभाडामा बाइडेन नै अगाडि छन् । जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन् । अलास्कामा पनि ट्रम्प नै अगाडि रहेका छन् । अब पेन्सेल्भेनियाको मत निर्णायक मानिएको छ ।

पेन्सेल्भेनिया नजितामा पनि अब एरिजोना र नेभाडा गरी बाइडेनलाई चुनाव जित्न पुग्नेछ । नतिजापछि अमेरिकाले ५८ औं राष्ट्रपति पाउने छ । अमेरिकी राष्ट्रपति पदमा डेमोक्रेट उम्मेदवार पूर्व उपराष्ट्रति जो बाइडेनको विजय करिब निश्चित देखिएको छ । जीत घोषणाका लागि बाइडेनलाई अब ६ मत मात्र आवश्यक परेको छ ।

आगामी चार वर्षका लागि ह्वाइट हाउसमा पुग्न सम्पूर्ण शक्ति खर्चिएका राष्ट्रपतिका दुई उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र बाइडेनबीचको यो निर्वाचनको मत परिणाम पनि चुलेसीको धारका बीचबाट भइरहेको छ ।

राष्ट्रपति ट्रम्प निकट मानिएको अमेरिकी समाचार संस्था फक्स न्यूजका अनुसार नै पनि बाइडेनलाई जीतका लागि जम्मा ६ इलेक्टोरल मत आवश्यक परेको छ । तर बाइडेनले यो मत नेभादाबाट जोड्न सक्ने अनुमान गरिएको छ । यद्यपि, त्यहाँ पनि दुई उम्मेदवारबीच निकै कडा प्रतिष्पर्धा रहेको छ । केही हजार मतले मात्र अगाडि रहेका बाइडेनले झिनो संख्याले उक्त राज्यको ६ इलेक्टोरल मत आफ्नो पक्षमा पार्न सके उनको जीत सुनिश्चित देखिन्छ ।

यसअघि ब्याटल ग्राउण्डका रुपमा चिनिएको विस्कन्सिन र मिचिगनमा सन् २०१६ को परिणाम उल्ट्याउँदै बाइडेनले परिणाम आफ्नो पोल्टामा पारेपछि उनी जीतको नजिक पुगेका हुन् ।

ट्रम्पले भने ती दुबै र राज्यमा पुनः मतगणना गर्नुपर्ने माग गरेका छन् भने पेन्सलभेनियाको गणनाविरुद्ध अदालती कार्वाहीमा जाने घोषणा गरेका छन् यद्यपि, परिणाम अनुमान गरिए पनि आधिकारिक घोषणा हुन भने अझै बाँकी रहेको छ । पेन्सलभेनिया, नर्थक्यारोलाइना, जर्जिया र नेभदामा कस्ले जित्छ भन्ने अनुमान गरिसकिएको छैन ।

जितको नजिक पुगेका बाइडेन भन्छन्, ‘सत्ता कसैले कब्जा गर्न सक्दैन, यो नागरिकले सुम्पने कुरा हो’
जारी मत गणनामा पछि पर्दै गएपछि धाँधलीको आरोप लगाउँदै डोनाल्ड ट्रम्पले अदालत जाने चेतावनी दिइरहेका बेला राष्ट्रपतिको चुनावमा उनका प्रतिद्वन्दी जो बाइडेनले सत्ता कसैले कब्जा गर्ने कुरा नभई नागरिकले सुम्पने चिज भएको बताएका छन् ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले ट्रम्पको नाम नलिईकन उनीविरुद्ध चेतावनीयुक्त भाषण गरेका हुन्। त्यस क्रममा बाइडेनले राष्ट्रिय एकताको कुरा पनि गरेका छन् ।
आगामी ४ वर्षका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन वर्तमान राष्ट्रपति ट्रम्प र पूर्व उपराष्ट्रपति बाइडेन प्रतिस्पर्धामा छन् । मंगलबार सम्पन्न मतदानको नतिजा आउने क्रम जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *