Sajhamanch Archive

‘म घोषणपत्रमा उल्लेख गरेका कुराहरु पूरा गरेरै छाड्छु’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by .

गोविन्दप्रसाद पौडेल, कनकाई नगरपालिका वडा नं ४ का अध्यक्ष हुन् । अघिल्लो वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद दाहाललाई १३७ मतले पछि पार्दै उनी विजयी भएका हुन् । तत्कालीन नेकपा एमालेबाट विजयी भएका वडाध्यक्ष पौडेललाई एक वर्षको कार्यअनुभवसहित बाँकी चार वर्षका लागि बनाएका योजनाहरुबारे साझामञ्चका लागि ज्ञानु घिमिरेले कुराकानी गरेकी छन् ।

तपाईं कनकाई नगरपालिका वडा नं. ४ को अध्यक्ष निर्वाचित हुनुभएको एक वर्ष बित्यो । यो अवधिमा के–कस्ता कामहरु सम्पादन गर्नु भएको छ ?

लामो समयसम्म जनप्रतिनिधि नभएको अवस्थामा २० वर्ष पछि आफू निर्वाचित भएर जाँदा एकदमै धेरै गाह्रो र एउटा परिबन्धमा परेकोजस्तो अनुभव गरेको थिएँ । तर केही दिनमा नै आफू निर्वाचित भएर आएपछि मैले गर्नुपर्ने रहेछ भन्ने लाग्यो ।

काम नै त हामीले त्यस्तो खासै केही गरेजस्तो लाग्दैन । हामीले पूर्वधारमा जोड दिएर काम गरेका छौं । लक्ष्मीमार्ग सडकलाई स्तरोन्नति गरी ६५ फुटमा विस्तार गरेका छौं । अन्य साना १४ वटा बाटाहरुलाई स्तरोन्नति गरेका छौं । वडाभित्रका सबै विद्यालयलाई शौक्षिक सामग्री प्रदान गरेका छौं ।

संस्कृत विद्यालय र मदरसालाई पनि आवश्यक सामग्री वितरण गरेका छौं । स्वास्थ्यका क्षेत्रमा विभिन्न रोगको शिविर सञ्चालन गरेका छौं । महिलाहरुलाई झोला बनाउने तालिम दिएका छौं भने, एकल महिला लक्षित गरी मैरीपालन कार्य सञ्चालन गरेका छौं । बालबालिका तथा युवाका लागि खेलकुद प्रतिभा प्रस्फुटन गराउन तालिम सञ्चालन गरेका छौं ।

तपार्इंले घोषणा पत्रमा उल्लेख गर्नु भएको कुन–कुन कुराहरु यो अवधिमा पूरा गर्न सक्नु भयो भन्ने लाग्छ ?

भूमिहीन तथा घरवार बिहीनलाई घर निर्माण गरिदिने घोषणा पत्रमा भनेका छौं, त्यसका लागि १४ घर परिवार बस्न मिल्ने गरी घर बनाउन निर्माण थालनी गरिएको छ । आफ्नो वडाभित्र रहेको ओइलानी जमिनको तथ्याङ्क संकलन गरेका छौं । अब त्यहाँ बसोबास गर्नेहरुको पनि लगत लिन काम भइरहेको छ । भूमिहीन सुकुम्बासीलाई त्यहाँ व्यवस्थित बसोबास गराएर उज्यालो नगरीका रुपमा विकास गर्न लागेका छौं ।

वडा अध्यक्ष भनेका स्थानीय सरकारका मन्त्रीहरु हुन् । तपाईंलाई पालिका सरकारले केही जिम्मेवारी पनि दिएको छ कि ?

नगरमा विषयगत समिति र प्रवक्ताको जिम्मेवारी दिइएको छ । आफ्नो वडाका सम्पूर्ण कार्यहरुलाई सञ्चालन र संरक्षण गर्ने जिम्मा त हुने नै भयो ।

हिजो प्रतिष्पर्धामा निस्केका दल र जनताबाट कस्तो साथ पाउनु भएको छ ?

आजका दिनसम्म त्यस्तो नराम्रो प्रतिक्रिया पाएको वा असहयोग नै भएको अवस्था छैन । सकेसम्म सबैलाई समेटेर लैजाने प्रयासले होला जनता र मित्रहरुबाट राम्रो साथ र समर्थन जुटेको छ ।

अबको बाँकी चार वर्षे कार्यकालका लागि तपाईंका योजनाहरु के के रहेका छन् ?

अघिल्लो वर्ष हामीसँग ४२ लाख ६४ हजार रुपैयाँको बजेट थियो तर हामीले एक करोड २९ लाखको काम गरेका छौं । यो वर्ष ७३ लाख ६५ हजार वडा कै बजेट रहेको छ, अझ धेरै रचनात्मक काम गर्नैछौं भन्ने हिम्मत जागेको छ ।

चालू आर्थिक वर्षको बजेटबाट कोटीहोमबाट दक्षिण गायत्री मार्ग हुँदै जाने बाटो स्तरोन्नतिका लागि १२ लाख रुपैयाँ वडाबाट र सडक बोर्डबाट १० लाख रुपैयाँ निकासा गराइएको छ । पानीको निकासामा तीन लाख छुट्याएका छौं ।

कृषिका लागि साना कृषि औजार वितरण गर्ने, सहकारीहरुलाई मल, थ्रेसर र मकै छोडाउने मेसीन खरिद गर्न बजेट विनियोजित गरेको छु । युवाका लागि एक लाख, दलित आदिवासीका लागि दुई लाख, स्थानीय चर्चको स्तरोन्नतिका लागि ५० हजार, कनकाई नदीको तटबन्धनका लागि १६ लाख, कोटीहोममा योगी नरहरिनाथको शालिक निर्माण गर्न ८ लाख रुपैयाँ तथा वेपत्ता पार्क निर्माणमा एक लाख ५० हजार रुपैयाँ बजेट छुट्याएका छौं ।

मेरो मुख्य योजना ओइलानी–पर्ति जग्गाको धनिपूर्जा वितरण गर्नेछ । बौद्धगुम्बालाई विस्तार गर्ने, कोटीहोमलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै भवनहरु व्यवस्थित गर्ने, सामुदायिक वनलाई पार्कमा रुपान्तरण गर्ने, पञ्चायत मार्गको बाटोलाई कोटीहोमसम्म व्यवथित गर्ने लक्ष्य छ ।

निम्न आय भएका तथा लक्षित वर्गलाई आयआर्जनका कार्यमा लैजाने, कनकाई क्याम्पसको दक्षिणपट्टी गेट राख्ने, स्वच्छ खानेपानी वितरण गर्ने, प्रदेश सरकारबाट ७ करोडको बजेट जुटेको छ, सोमार्फत् ढल निकासको प्रबन्ध मिलाई र पूर्ण ढल निकासयुक्त वडा बनाइनेछ ।

वडा नं. ३ र ४ को सिमानामा रहेको हेल्थ सेन्टरलाई नगर स्तरीय अस्पतालमा विकास गराउने, स्वास्थ्य बीमा सबै वर्गमा पुर्याउने, माई क्षेत्रमा शिक्षाबाट बञ्चित भएका बालबालिकाहरुलाई विद्यालय भर्ना गराउने गरी चालू आर्थिक वर्षमा नै शिक्षा क्षेत्रका लागि पाँच लाख रुपैयाँ बजेट छुट्याएका छौं ।

सिलाई बुनाईलाई अझ व्यावसायिक रुपमा लगेर महिलालाई आत्मनिर्भर बनाउने योजना छ । यसका लागि वर्षेनि दुई लाख ५० हजार रुपैयाँको बजेट ल्याएका छौं । समपूर्ण जातजातिको संग्राहालय निर्माण गर्ने योजना छ ।

अग्रणी शिक्षण संस्था कनकाई कलेज तपाईंको वडामा पर्छ । यसको विकासका लागि कस्तो योजना ल्याउनु भएको छ ?

कलेजको प्रमुख प्रतिनिधि सदस्य भएकोले यसका लागि स्ववियु भवन बनाउने, छात्रा आराम कक्षको व्यवस्था गर्ने प्रयोजनका लागि वडा र युजीसीको सहयोगमा निर्माण हुनेछ ।

के तपाईले घोषणा पत्रमा उल्लेख गरेका सवै कुरा पुरा गर्नुहुन्छ ?

त्यस्तो असम्भव कुराहरु वडाको घोषणा पत्रमा रहेकै छैनन् । यो पाँच वर्षको अवधिमा म घोषणपत्रमा उल्लेख गरेका कुरा पूरा गरेरै छाड्छु । यो मेरो प्रतिवद्ध्रता हो ।

अन्तिममा, आफ्ना वडाबासीलाई के भन्नु हुन्छ कि ?

यो एक वर्षको मेरो समय सिकाई मै बितेको छ । आगामी वर्षहरुमा धेरै कार्यहरु गर्नेछु । विकास निर्माण जनप्रतिनिधिले मात्र गरेर सम्भव छैन, यसका लागि तपाईंको साथको जरुरी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *