Sajhamanch Archive

अक्सिजन चाहिने कोरोनाका संक्रमित बढ्दै

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्दो क्रममा छ । अझ कोरोनाको लक्षणसहितका सिकिस्त हुनेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । लक्षणसहितका कोरोना संक्रमितलाई समयमै मेडिकल अक्सिजन दिन सके मृत्युदर घटाउन सकिने चिकित्सकहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक, त्रिवि शिक्षण, अल्का, बीएन्डबी र ग्रान्डीमा मात्रै अक्सिजन प्लान्ट छ । उपत्यकाबाहिर चितवन मेडिकल कलेज, धुलिखेल अस्पताल र चुरेहिल अस्पतालमा प्लान्ट रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्ता प्लान्टबाट पाइपमार्फत बिरामीको शय्यासम्मै अक्सिजन आपूर्ति गरिएको छ । यता वीर पाटन अस्पतालको अक्सिजन प्लान्ट बिग्रिएर सात महिनादेखि थन्किएको छ । सरकारले अक्सिजन प्लान्ट थप्‍नु त परको कुरा बिग्रिएर थन्किएकाको पनि मर्मत गर्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल देशैभर दुई हजार आठ सय ५५ अक्सिजन सिलिन्डर छन् । शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले कोभिडका कारण अक्सिजन कम भएर सास फेर्न गाह्रो भएकाले समयमै अक्सिजन दिएर उपचार दिनुपर्ने बताउँछन् । उनका अनुसार कोरोनाका मध्यम र सिकिस्त बिरामी बढ्दै गएको हुँदा मुलुकभरका स्वास्थ्य केन्द्रमा अक्सिजन पर्याप्त हुनु अत्यावश्यक भइसकेको छ ।

कोरोनाका लक्षणसहितका बिरामीमध्ये ७० देखि ८० प्रतिशतलाई अक्सिजन आवश्यक पर्ने देखिने गरेको उनले जानकारी दिए । यद्यपि उपलब्ध सिलिन्डरले सबै बिरामीको उपचार गर्न नसकिएको उनी बताउँछन् ।

यदि होम आइसोलेसनमा बसेका संक्रमितलाई अक्सिजन घटेर समस्या देखिए समयमै मेडिकल अक्सिजन दिएर ज्यान जोगाउन सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन बताउँछन् । उनका अनुसार पछिल्लो समय लक्षणसहित कोरोना संक्रमितमा निमोनियाँ भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीको संख्या पनि बढिरहेको देखिएको छ । उनले भने, “विकशित देशहरूले हाई फ्लोमा दिने अक्सिजन लिनका लागि बुक गरेको देखिन्छ ।”

कोरोना सङ्क्रमण भएर सिकिस्त लक्षण देखिएका बिरामीमा श्‍वासप्रश्‍वासको समस्या देखिएको हुन्छ । तिनीहरूलाई सघन उपचार र अक्सिजन आवश्यक पर्ने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार आईसीयू र भेन्टिलेटरभन्दा पनि अक्सिजन दिनुपर्ने बिरामी बढेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष ०७६/७७ मै अक्सिजन प्लान्टको व्यवस्थापन गर्न २१ अस्पताललाई दुई करोड ६० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर उक्त रकम अस्पतालहरूले काम नगर्दा फ्रिज भएको थियो ।

                                                                                                          स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *