हिट फिल्मको पखाईमा आशिरमान
Published:
by .नेपाली फिल्ममा केही वर्षयता चकलेटी हिरोहरुको हालीमुहाली छ । आर्यन सिग्देल, जीवन लुईंटेल जस्ता अभिनेताको दबदबा तोड्दै नेपाली फिल्ममा आएका अनमोल केसी, प्रदीप खड्का, पल शाहलगायतका अभिनेताले अहिले आफ्नो वर्चश्व कायम गरेका छन् । तर, चकलेटी अभिनेता सबैको करिअर सुखद भने छैन । कति अझै आफूलाई दर्शकमाझ चिनाउन संघर्ष गरिरहेका छन् ।
आकर्षक लुक्स हुँदैमा नेपाली फिल्ममा सफलता हासिल गर्न सकिन्न भन्ने एक उदाहरणका पात्र हुन्, आशिरमान देशराज जोशी (श्रेष्ठ) । ‘होस्टेल’ बाट अनमोल केसीलाई स्टार बनाएका हेमराज विसीले फिल्म ‘ग्याङस्टार ब्लूज’ बाट आशिरमानलाई अभिनेताको रुपमा डेब्यू गराएका थिए । फिल्म रिलिज अगाडि उनको राम्रै चर्चा थियो । कतिपयले भविष्यको स्टारको रुपमा हेरेका थिए ।
तर, ‘ग्याङस्टार ब्लूज’ ले उनको करिअरलाई उकास्न सकेन । फिल्म असफल मात्र भएन, उनको अभिनय पनि रुचाइएन । पहिलो गाँसमै ढुंगा लाग्दा उनलाई ठूला ब्यानरले फिल्ममा लिने जोखिम उठाउन चाहेनन् । पहिलो फिल्म नै अन्तिम हुने चर्चा चल्न थालेपछि हेमराजले फिल्म ‘द ब्रेकअप’ मा उनलाई दोहोर्याए । तर, दुर्भाग्य १ आशिरमानलाई यो फिल्मले पनि राहत दिएन ।
‘द ब्रेकअप’ पछि उनको नेपाली फिल्मसँग ब्रेकअप नै भएको छ । विगत डेढ वर्षदेखि उनको दैनिकी घरभित्रै वितेको छ । हातमा एउटा पनि फिल्म छैन । उनलाई कुनै मेकरले फिल्म अफर गरेको खबर समेत बाहिरिएको छैन । अहिले उनलाई डुब्न लागेको करिअर बचाउन एउटा हिट फिल्मको आवश्यकता छ ।
Comments