Sajhamanch Archive

रिपब्लिकन नेताले छाड्न थाले ट्रम्पको साथ

Published: in विश्व समाचार by .

जो बाइडेनसँग अमेरिकाको राष्ट्रपतिमा पराजित भएका डोनाल्ड ट्रम्पको साथ उनकै पार्टी रिपब्लिकनका नेताले छाड्न थालेका छन् । साथ छाडेर उनलाई हार स्वीकार गर्न सन्देश दिए पनि ट्रम्पले भने अझै हार अस्वीकार गर्दै आइरहेका छन् । ट्रम्पको साथ छाड्दै उनीहरुले जो बाइडेनलाई साथ दिन थालेका हुन् ।

तर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई शपथ अघिको अन्तरिमकालमा सत्ता हस्तान्तरणको प्रक्रिया अन्तर्गत गरिनु पर्ने सहयोग तथा सहकार्य राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरेको छैन। पराजित भएका ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै अहिलेसम्म हार स्वीकार गरेका छैनन्।

उनले धाँधलीको आरोप लगाए पनि कुनै ठोस प्रमाण भने भेटिएको छैन। तर बिस्तारै केही रिपब्लिकन नेताहरुले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई साथ दिन थालेका छन्। बाइडेनलाई अहिलेसम्म ट्रम्प प्रशासनले कूटनीतिक तथा गुप्तचर जानकारीको ब्रिफिङ्ग दिएको छैन। त्यसको केही रिपब्लिकन नेताहरुले विरोध गरेका छन्।

पहिले ट्रम्पको धाँधलीको आरोप पछि लागेका माथिल्लो सदन सिनेटको न्यायीक समितिका सभापति लिन्ड्सी ग्राहमले अहिले बाइडेनलाई दैनिक ब्रिफिङ्ग दिइनु पर्ने बताएका छन्। तर सदनमा रहेका अधिकांश रिपब्लिकनहरु अहिलेसम्म पनि बाइडेनको विजयीबारे जानकार नै नरहेको जस्तो व्यवहार गरिरहेका छन्। अमेरिकी सञ्चारमाध्यमले गएको हप्ता नै राष्ट्रपतिमा बाइडेन विजयी हुने बताएका थिए ।

ट्रम्प समूहले बिना प्रमाण अदालतमा मुद्दा दायर गरेको छ । अहिलेसम्म १० देखि २० रिपब्लिकन सांसदहरुले जितका लागि बाइडेनलाई बधाई दिएका छन् या सत्ता हस्तान्तरणका लागि अन्तरिमकालको प्रक्रियामा जानु पर्ने बताएका छन् । बिहीबार तल्लो सदनकी सभामुख न्यासी पेलोसीले अहिले ट्रम्प तथा रिपब्लिकनहरुले तमाशा गरिरहेको र ध्यान जानु पर्ने कोरोना भाइरसको महामारी ओझेलमा परेको भन्दै वास्तविकता स्वीकार गर्न रिपब्लिकनहरुलाई आग्रह गरेकी छन् ।ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *