Sajhamanch Archive

महाकवि देवकोटाकाे ११२औँ जन्मजयन्ती मनाइँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, साहित्य by .

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म वि.सं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । साथै वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा पनि उनले सक्रिय योगदान दिएका थिए ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता मानिन्छ ।

महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैंले अंग्रेजीमा अनुवाद गरेका थिए । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौं गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित ‘मायाविनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *