Sajhamanch Archive

ढल्न लाग्यो सीमा पिल्लर, रमिदै बन्दै सुरक्षा बल

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

कचनकवल । पाठामारी बजार पूर्व रहेको ११२ नम्बर सीमा पिलरको ५ मिटरकै छेउमा नेपाल तर्फको सुरक्षा पोष्टको छानो छाप्रो छ ।

त्यस छाप्रोमा हरेक दिन एकदेखि ३ जनासम्मले पहरेदारी गर्ने गरेका छन् । कोरोना संक्रमणका कारण गएको चैत्रदेखि त्यहाँ सशस्त्र प्रहरीले पहरेदरी गरिरहेको छ । त्यस अगाडि बोर्डर आउट पोष्ट केचनाको बेस क्याम्प मार्फत सीमा हेरिरहेको सशस्त्र टोलीले यही साउनयता बोर्डर आउट पोष्टको मान्यता पनि पाएको छ । तर, अगाडि रहेको सीमा पिलर मेची नदीले कुन बेला ढाल्ने हो, पहरेदारी गरिरहेका सशस्त्र प्रहरी जवान समेत अलमलमा छन् । हाकिमहरू बेला बेला आएर निरीक्षण पनि गर्छन् त्यही पनि मेची नदीको बहाव रोक्ने युक्ति आइसकेको छैन । यो भन्दा अरू जानकारी सुरक्षा पोष्टको छाप्रो रूँघिरहेकासित छैन पनि ।

दक्षिणी झापाको कचनकवल ४ स्थित पाठामारीमा रहेको नेपाल भारत सिमानाको मेचीकिनारको ११२ नम्बरको जंगे पिलर ढल्ने अवस्थामा पुगे पनि नेपाल भारत सिमा सुरक्षा बलले संरक्षणका लागि देखिने गरी पहल गर्न सकेको छैन ।

केही वर्षयता पूर्वी तटबाट मेची नदी निरन्तर पश्चिमतिर बहाव बढ्ने क्रममा रहँदा नेपाल भारत सिमाना छुट्याउने पिलर कटानका कारण ढल्ने अवस्थामा पुगे पनि दुवै देशका सुरक्षा बलले कटान रोक्न सरकारी शक्तिसित ध्यानाकर्ष गराउन नसकेका हुन् ।

सीमा आसपासका बासिन्दाका अनुसार चार वर्ष अगाडिसम्म मेची नदीको बहाव एक किलो मिटर पूर्व नै रहेको थियो । त्यसयता निरन्तर पश्चिमतिर धार परिवर्तन गरेको नदीको कटानका कारण सीमा क्षेत्रको नेपाल भारत दुवै देश तिरको सयौं बिगाह जमीन कटान गरिसकेको छ । नेपालीहरूले नेपालतिरको सरकार गुहार्दै नदी कटान रोक्न अनुरोध गरे पनि सीमा स्तम्भभन्दा एक किलोमिटर माथिसम्म तटबन्धनको काम ६ वर्ष अगाडिबाट सुरू भए पनि पूरा हुन सकेको छैन भने भारतीय पक्षले सो सीमा स्तम्भ आसपास तटबन्धनको विषयमा चासो नराखेको भारतीय नागरिकको भनाइ छ ।

नेपाल भारत दुवै देशको साझा सरोकारको विषय भए पनि दुवै देशका सरकारी पक्षको चासो सीमा पिलर जोगाउन नरहँदा ११२ नम्बर पिलर अर्को वर्ष देख्न पाइने नपाइने केही भन्न नसकिने स्थानीय नागरिक बताउने गर्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *