Sajhamanch Archive

८० हजारभन्दा धेरै फैसला कार्यान्वयन हुन बाँकी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । अदालतले विभिन्न समयमा फैसला गरेका साढे ८० हजार मुद्दा कार्यान्वयन हुन बाँकी रहेको पाइएको छ । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार ८० हजार ५१० थान मुद्दामा भएकोे फैसला असूल हुन बाँकी छ ।

अदालतले गरेको फैसला अटेर गर्नेमा १ लाख १८ हजार ३७ स्वदेशी र १ हजार ५५२ विदेशी नागरिक छन् । उनीहरुबाट अदालतले गरेको दण्डसजाय भुक्तान हुन बाँकी छ ।

फैसला कार्यान्वयन निर्देशनालयको भदौ महिनासम्मको तथ्यांक अनुसार उच्च अदालत विराटगरमा ११ हजार ९२५, उच्च अदालत जनकपुरमा २३ हजार ३१९, उच्च अदालत पाटनमा २५ हजार ११३, उच्च अदालत पोखरामा ५ हजार १२१, उच्च अदालत तुल्सीपुरमा ८ हजार ९२५, उच्च अदालत सुर्खेतमा १ हजार ४४४ र उच्च अदालत दिपायलमा ४ हजार ६६३ थान मुद्दाको लगत बाँकी छ ।

साढे ११ करोड बढी उठाउन बाँकी

त्यस्तै, राहत तथा क्षतिपूर्ति बापतको साढे ११ करोड भन्दा बढी रकम पनि असूल भएको छैन । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको १० करोड ४५ लाख ७८ हजार ६१७ र चालू आर्थिक वर्ष (भदौसम्म) मा १ करोड ७८ लाख १० हजार ९९८ रुपैयाँ राहत तथा क्षतिपूर्ति हुने अदालतबाट फैसला भएको छ ।

त्यस्तै, ०७५ भदौबाट लागु भएको मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार १ लाख १८ हजार ९४२ फरार व्यक्तिबाट जरिबाना असुल भएको छ । आव ०७६/७७ मा मात्र ५६ लाख ६८ हजार ८६३ रुपैयाँ जरिबाना असूल भएको छ । कैदतर्फ पछिल्लो आर्थिक वर्षमा मात्र ७४१ वर्ष ७ महिना १ दिन कट्टा भएको छ ।

फैसला कार्यान्वयनको विशेष अभियानबाट कैदतर्फ १.६३ प्रतिशत र जरिबाना बापत ७ दशमलव ७१ प्रतिशत असुली भएको छ । अदालतको फैसला कार्यान्वयनका २४ जिल्लामा विशेष अभियान नै चलाइएको छ । ६ हजार ८३३ वर्ष १४ दिन कैद भुक्तान भएको छ भने ४२ करोड ३१ लाख १३ हजार ९४३ रुपैयाँ विशेष अभियानबाट असूल भएको छ ।

                                                                                                                बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *