Sajhamanch Archive

छठ पर्वलगत्तै पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल पत्रकार महासङ्घले छठ पर्व लगत्तै दोस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासन गरिएका पत्रकारको स–सम्मान पुनर्बहाली गर्नुपर्ने, यसबीचको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैँ खर्चलगायत विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने लगायत माग गर्दै महासङ्घले आन्दोलन गर्न लागेको हो ।

यस्तै महासङ्घले नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पनि माग गरेको छ ।

महासङ्घमा भएको पत्रकारिता सम्बद्ध सङ्गठनका प्रतिनिधिहरूसँगको छलफलमा अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको समस्यालाई वार्ता र संवादबाट समाधन नभएका कारण आन्दोलन गर्नुपरेको बताए ।

छलफलका क्रममा सङ्गठनका प्रतिनिधिहरूले सम्बद्ध सञ्चार गृहका सञ्चालकको घर घेराउ गर्नुपर्ने र सञ्चार गृहमा तालाबन्दीदेखि श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयनका लागि सरकारी निकायलाई दबाब दिनुपर्ने सुझाव दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *