Sajhamanch Archive

वायु प्रदूषणले कोरोना सङ्क्रमण र ज्यान जाने सम्भावना बढी : विज्ञ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । वायु प्रदूषण बढी भएको ठाउँमा बस्ने मानिसमा कोरोना भाइरसको सङ्क्रमण र सङक्रमणका कारण ज्यान जाने सम्भावना बढी हुने अध्ययनले देखाएको छ ।

वातावरण संरक्षणसँग सम्बन्धित विज्ञहरुका अनुसार कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेमध्ये झण्डै १५ प्रतिशत वायु प्रदूषण नै कारण हुने गरेको छ । नेपालमा मानिसको ज्यान जाने प्रमुख तीन कारणमध्ये मुटुसम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग र मस्तिष्कघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. जागेश्वर गौतमले नेपालमा आवश्यक मापदण्ड भन्दा पाँच गुणा बढी वायु प्रदूषण रहेको बताए ।साथै उनले फोक्सो र मुटु रोग तथा मस्तिष्कघातको प्रमुख कारकमध्ये वायु प्रदूषण पनि एक भएको बताएका छन् ।

सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार व्यक्तिको ज्यान गएको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठन नेपालका जनस्वास्थ्य प्रशासक डाक्टर खुर्सिद आलम हाइडरले वायु प्रदूषणले कोभिड-१९ को सङ्क्रमण र मृत्युदर दुवै बढाउने भन्दै वायु प्रदूषण नियन्त्रणका लागि नगरपालिकाहरुलाई प्राविधिक सहयोग गर्न संगठन तयार रहेको बताएका छन् ।

वातावरणविद् सञ्जयनाथ खनालले वायु प्रदूषण नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन तथा यातायातमा सुधार, सडकमा धुलो नियन्त्रण, उद्योगमा सुधार र फोहर जलाउने काम बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

                                                                                                                         उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *