Sajhamanch Archive

भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण तयारी

Published: (Updated: ) in समाज, स्थानीय तह by .

झापा । झापाको कनकाई नगरपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने तयारी भएको छ ।

प्रदेश नं १ अन्तर्गत झापाको कनकाई नगरपालिका र उदयपुरको बेलका नगरपालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेको सम्झौतानुसार भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरणको तयारी भएको हो ।

उम्मेदवारले निर्वाचनका समयमा भूमिहीनलाई लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएका थिए । आयोगले देशभर १४ स्थानीय तहमा लालपुर्जा वितरणका लागि गत कात्तिक १४ गते सम्झौता गरेको थियो । सात प्रदेशका ती स्थानीय तहमा पहिलो चरणमा लालपुर्जा वितरण गर्ने गरी आयोगले काम थालेको हो ।

सोही बमोजिम कनकाई नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको छ । लालपुर्जा वितरणमा खटिने कर्मचारीलाई तालीमसमेत दिइसकिएको छ । भूमिहीनलाई भूमि र आवासविहीनलाई आवास दिने नेकपा सरकारको घोषणानुरुप देशभर पहिलो चरणको काम थालिएको छ ।

झापा क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बू तथा आयोगका सदस्य गोपाल गुरागाईँ र प्रतिनिधि जगतबहादुर देउजाले नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई सक्कल आवेदन फाराम हस्तान्तरण गरेका हुन् ।

सांसद् लिम्बूका अनुसार नेकपाले निर्वाचनमा गरेको प्रतिबद्धतानुसार लालपुर्जा वितरणको काम अघि बढाइएको हो । उनले यही मङ्सिर १४ गते नगरपालिकाले सूचना जारी गर्ने र २०७८ असार मसान्तभित्र भूमिहीनलाई र असोजभित्र अव्यस्थित बसोवास गर्नेलाई लालपुर्जा वितरण गरिने जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *