Sajhamanch Archive

कृषिमा युवाको बढ्दो आर्कषण

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by .

मेचीनगर । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीका कारणले धेरैले आर्थिक संकट खेप्नु पर्यो, व्यापार व्यवसाय चौपट भयो घरभाडादेखि बैंकको ब्याज समेत तिर्न सकेनन् । व्यवसायीहरुले मात्र होइन् धेरैले आफनो रोजगारी समेत गुमाए तर मेचीनगरका युवाहरुलाई भने कोरोना कहर एउटा अवसर बनेको छ ।

झापाको मेचीनगर नगरपालिका वडा नं.३ स्थित बडागाउँमा १३ जना युवाले डेढ करोडको लगातमा निन्दा रिभरल्यान्ड कल्चरल होमस्टे एण्ड एग्रो फार्म सञ्चालनमा ल्याएका छन् ।

निन्दा किनारमा १२ बिघा जमिन भाडामा लिएर उनीहरूले व्यवसायिक रूपमै माछापालन,हाँसपालन तथा तरकारी खेती सुरु गरेका हुन्।

फार्ममा मौसमी तथा बेमौसमी तरकारीहरु सिमि, बोडी, काँक्रा,फर्सी,करेला,लौका,मुला,धन्या,गाँजर लगायतका सागसब्जीहरुको उत्पादन सुरु गरिएको फार्मका अध्यक्ष जितेश योञ्जन बताउँछन् ।

करिब दुई महिना अगाडिबाट सुरु गरिएको उक्त फार्ममा ६ हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरी ५० हजार माछाका भुरासमेत लगाई सकिएको फार्मका कोषाध्यक्ष योगराज भट्टराई (योगेश)ले बताए ।

कृषिमा क्रान्ति गर्ने उद्देश्यले तरकारी खेती,माछापालन सुरु गर्नुका साथै पर्यटकलाई आर्कषण गर्न सिमसारसहितको सुविधासम्पन्न होमस्टे निर्माण गर्ने लक्ष्यका साथ अघि बढिएको भट्टराई बताउँछन् ।

कोरोना भाइरस संक्रमणका कारणले सरकारले गत चैत महिनाबाट सिमा नाका बन्द गरेको छ । भारतका तरकारी र माछामा निर्भर भएका हामी नेपाली महँगो मूल्यमा तरकारी किनेर खान बाध्य छौं । हामीले आफनो स्थानमा पनि केही गर्न सकिन्छ भन्ने सोचले व्यवसाय सुरु गरेको भट्टराई सुनाउँछन् ।

बगरमा तरकारी खेती हुन्छ र भनेर धेरैले हामीलाई प्रश्न गर्नु भयो तर मेहेनत गर्यो भने पक्कै सफल हुँदो रहेछ । आफुहरुले गरेको मेहेनतको फल राम्रोसँग लाग्दैै गरेको उनी बताउँछन् ।

फार्म सञ्चालन आएसँगै स्थानीय ९ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । सरकारले पनि विदेश पलायन हुन लागेका युवाहरुलाई सुलियतमा ऋण उपलब्ध गरेर नेपालमा नै व्यवसाय गर्ने वातारण सिर्जना गरे हर-कोही नेपालीले विदेशको बाटो पक्कै रोज्नु पर्दैन थियो होला !

तस्बिर : इश्वर रिजाल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *