Sajhamanch Archive

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको छ ।

बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

कोरोनाको महामारीका कारण कतिपयले भने यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् । कतिपय ठाउँमा भने जलाशयमा नै पुगेर सामूहिक रुपमा नै छठ पर्व मनाएका छन् ।

हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान झिसमिसमै घाटमा पुर्याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । आज कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ ।

कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठ पूजाले निरोगी हुने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ । चार दिनसम्म मनाइने लोकपर्व छठ यसपालि पोहोर परारको भन्दा फरक देखियो ।

कोरोना महामारीका कारण यसपालि पोहोर परारको जस्तो रौनक नभए पनि व्रतालुले विधि पूर्वक पूजा आराधना गरेका छन् । सहरी क्षेत्रमा सामूहिक रुपमा छठ मनाउनेहरुले केही स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे पनि ग्रामिण क्षेत्रमा मापदण्ड पालना भएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *