Sajhamanch Archive

राजा वीरेन्द्रकाे निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारदेखि ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ । शनिबारदेखि खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरूलाई आजीवन संरक्षण गर्नुपर्ने बताए ।

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहे पनि कोभिड–१९ का कारण सम्भव नभएको बताए ।

अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उनले बताए। ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाका नाम जिल्लाबाट राखिएको पनि उनले बताए । अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समय क्रमअनुसार सबै खुला हुने उनले बताए ।

श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहार स्वरूप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ । यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाइजहाज पनि अवलोकनका लागि राखिएको छ ।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँ तलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार सङ्ग्रहालयमा परिणत भए पनि त्यो सदन बन्द रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *