Sajhamanch Archive

शुल्क विवादपछि १२ कक्षाका विद्यार्थी प्रहरी थुनामा

Published: in मिडियाबाट साभार, शिक्षा by .

काठमाडौं । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ । बल्लतल्ल सात महिनापछि परीक्षा हुने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन् ।

तर काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्यार्थी भने प्रहरीको थुनामा छन् । मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू आइतबारसाँझसम्म छुटेका छैनन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले तीनै जना विद्यार्थीहरुलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेको जानकारी दिए । राठौरका अनुसार उनीहरूमाथि म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

कलेजले थप १८ विद्यार्थीविरुद्ध प्रहरीमा उजुरी दिएको अभिभावकहरूले जानकारी दिएका छन् ।

कसरी भयो विवाद ?

कोरोनाका कारण विद्यार्थीहरूले यसपटक सम्बन्धित विद्यालयमै कक्षा १२ को परीक्षा दिँदैछन् । मोर्गनका विद्यार्थीहरू गत साता प्रवेश पत्र लिन विद्यालय पुगे ।

तर मोर्गन व्यवस्थापनले शुल्क नतिरेको भन्दै प्रवेश पत्र दिन मानेन । त्यसपछि अभिभावक र कलेज व्यवस्थापनबीच छलफल भयो तर सहमति जुटेन ।

महामारीका कारण शुल्क तिर्न नसक्नेहरूलाई परीक्षा दिने व्यवस्था गर्नुपर्ने र ढिलोमा प्रमाणपत्र लिनुअघि नै शुल्क चुक्ता गर्ने अभिभावकको माग थियो । तर तत्काल शुल्क चुक्ता नगरी कुनै पनि हालतमा प्रवेश पत्र नदिने अडानबाट कलेजपछि हटेन ।

अभिभावकहरूले भने कतिपयको तिरिसकेको शुल्क पनि फेरि मागेको, आंशिक परीक्षा दिने विद्यार्थीसँग पनि पैसा मागेको र सेनिटाइजर शुल्क मात्रै प्रतिविद्यार्थी ६ हजार रुपैयाँ मागेपछि विवाद बढेको आरोप लगाएका छन् ।

विवाद बढ्दै जाँदा केही विद्यार्थीले विद्यालय भवनमा ढुंगा हानेको मोर्गन कलेजको आरोप छ । कलेजले उजुरी दिएको नभइ विवाद बढ्दै जाँदा आफैं थाहा पाएर प्रहरी त्यहाँ आएको एक शिक्षकको भनाइ छ । अभिभावकहरूले भने १८ विद्यार्थीविरुद्ध कलेजले किटानी जाहेरी दिएको बताएका छन् ।

                                                                                                                       अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *