Sajhamanch Archive

रातभर पहिरोले भागाभाग

Published: (Updated: ) in प्रदेश तह by .

ताप्लेजुङ । मंगलबार रातिको वर्षापछि झरेको पहिरोका कारण फक्तालुङ गाउँपालिका ४ इखावुका विभिन्न स्थानमा चिरा परेको छ  ।

स्थानीय बासिलाई तत्काल आफ्नो घरमा बस्ने वातावरण नभएको रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले बताए ।

उनका अनुसार खानीका १५ र साप्चुङका ७ परिवार जोखिममा छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने १४ परिवार विस्थापित भएको बताए । तापेथोक प्रहरी चौकीबाट प्रहरी टोली पठाइएको र उनीहरूले तथ्यांक संकलन गरेको भण्डारी बताए ।

खतिवडाका अनुसार एकदेखि अर्को बस्ती जोड्ने र बालबालिका स्कुल जाने गाउँका ११ वटा पैदलमार्ग अवरुद्ध भएको छ । बाटो नभएका कारण बुधबार र बिहीबार विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको थियो ।

बुधबार दिउँसो १ बजे नै विद्यालय बन्द गरेर विद्यार्थीलाई शिक्षकले टोलटोलमा पुर्‍याएको खतिवडाले बताए ।

बुधबार राति गाउँलेहरू डाँडाका घरमा सरेर एकै ठाउँ बसेका थिए । तर कम वर्षा भएकाले थप क्षति हुन नपाएको स्थानीय बताउँछन् । वर्षा भए जुनसुकै बेला पनि भाग्नुपर्ने अवस्था रहेको उनीहरूको कथन छ ।

मंगलबारकै जस्तो वर्षा भए गाउँ नै सखाप हुने अवस्था रहेको खतिवडाको भनाइ छ । उनका अनुसार रातभर दर्केर वर्षा भएको थियो ।

तर सदरमुकाम फुङलिङमा भने त्यो रात सामान्य वर्षा भएको तथ्यांक छ । पूर्वाञ्चल हावापानी फिल्ड कार्यालयका अनुसार १५ मिलिमिटर मात्रै वर्षा भएको थियो ।

यसअघि यो वर्ष ९० मिलिमिटरसम्म वर्षा भएको छ । इखावु सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा छ । खानी र साप्चुङवाको पहिरो सिरेगु डाँडाको टुटेबाट सुरु भएको छ ।

टुटे यी बस्तीको शीर हो । पहिरोले जमानसिंह तामाङको पूरै घर पुरेको छ । एक हल गोरु घाइते भएको तामाङले बताए । प्रत्येक टोलमा पानीको मूल फुटेको र त्यही पानीले ठाडाखोला बढाएर पहिरोको रूप लिएको जमानसिंह बताउँछन् ।

जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी रेडक्रसको टोलीले सहयोग गर्ने बताउँछन् ।

सिंवामा रहेको टोलीले विस्थापितका लागि पाल, कम्बल लगायत व्यवस्था गर्ने जनाए । प्रहरीटोली बुधबारै पुगेर अवस्था अवलोकन गरेकाले त्यसैका आधारमा सहयोग गर्ने उनले बताए ।
यता, सिरिजंगा गाउँपालिका ७ याम्फुदिनका अविरमान राई र उनका छिमेकी गरी दुई परिवार विस्थापित भएको वडाध्यक्ष टसी लामाले बताए ।

पुगेनन् जनप्रतिनिधि
फक्तालुङ गाउँपालिकाका जनप्रतिनिधि पीडितको अवस्था बुझ्न पुगेका छैनन् । मंगलबार रातिको वर्षाले गाउँबासी विस्थापित भए र बुधबार राति सुरक्षित ठाउँ खोजेर बाहिरै बसे ।

गाउँपालिकाको केन्द्रमै रहेको प्रहरी चौकीको टोली विवरण संकलनका लागि बुधबारै पहिरो प्रभावित क्षेत्र पुगे ।

त्यहीं भएका गाउँपालिका अध्यक्ष सरोज एभेङ भने बिहीबार दिउँसोसम्म पनि प्रभावित क्षेत्रमा देखा परेनन् । गाउँपालिका केन्द्र र पहिरो गएको क्षेत्रको दुई घण्टा पैदल दूरीमा छ ।

पहिरोले गाउँबासीको बिचल्ली भएका बेला बुधबार उनी पहिरोको पारिपट्टि छिरुवाबाट ओहोरदोहोर गरिरहेका थिए । अध्यक्ष एभेङले शुक्रबार मात्रै अवलोकनमा जाने बताए ।

‘साथीहरूलाई सुरक्षित ठाउँमा बस्नुहोस् भनेको छु,’ टेलिफोनमा एभेङले भने, ‘भोलि गाउँ कार्यपालिकाको बैठक भएकाले शुक्रबार मात्रै जान लागेका हौं ।’ उनले तत्काल ठूलै क्षति गरिहाल्ने अवस्था नभएकाले वडाध्यक्षसँग त्यस्तो सल्लाह गरेको बताए । विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर राहत सामग्री प्रदान गर्ने उनले बताए ।

कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *