Sajhamanch Archive

बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी

Published: in मिडियाबाट साभार, समाज by .

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका वडा नं.१४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् ।

बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका वडा नं.५ का २५ वर्षीय अरुणकुमार साहको बर्दिवास नगरपालिका वडा नं.१४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ ।

बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

बर्दिवास नगरपालिका वडा नं.१४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् ।

बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुणकुमार साहले बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

                                                                                                                              अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *