इलामको जौबारीमा बिओपी स्थापना
Published:
by .इलाम । नेपाल–भारत सीमास्थल जौबारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।
इलामको सन्दकपुर गाउँपालिका वडा नं.५ स्थित जौबारीमा स्थापित बिओपी प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र प्रदेशका कृषिराज्यमन्त्री राम रानाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलामअन्तर्गत स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध कामकारवाहीमा परिचालित हुने सशस्त्र प्रहरी बल इलामका प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए ।
नेपाल सरकारको नीतिअनुरूप सिमानालाई अझ मजबुद बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट थप गर्दै लगिएको हो ।
बिओपी उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जौबारी आउने कार्यक्रम तय भएको थियो तर प्रतिकूल मौसमका कारण जहाज अवतरण गराउन नसक्दा समस्या भएको थियो । प्रधानमन्त्री ओली सवार जहाज इलाममा अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गराइएको थियो ।
Comments