Sajhamanch Archive

झापामा नयाँ प्रविधिबाट कालोपत्रे गर्ने कार्य शुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, स्थानीय तह by .

विर्तामोड । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) अन्तरगत झापाको चारपाने–राजगढ सडक खण्डमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ । गुणस्तरमा आधारित मर्मत सम्भार (पीवीएम) पद्धतिबाट कालोपत्रे गर्न शुरु गरिएको हो ।नेपालमा पहिलोपटक यो प्रविधि अपनाएर सडक निर्माण थालिएको संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले जानकारी दिए ।

नयाँ प्रविधिबाट सडकको कालोपत्रे गर्न शुरु गरिएसँगै सडक स्तरीय हुने विश्वास व्यक्त गरिएको छ । दक्षिणी झापाको बाह्रदशी गाउँपालिकास्थित राजगढबाट सडकको कालोपत्रे गर्ने काम शुरु गरिएसँगै संघीय सांसद लिङ्देन, बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीसहितको टोलीले सडकको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा निर्माण व्यवसायीले गुणस्तरीय काम गरेको पाइएको अध्यक्ष राजवंशीले बताए । अन्य प्रविधिको सडक भन्दा पीवीएम पद्धतिले सडक कालोपत्रे गर्दा सडक मजबुत हुने निर्माण व्यवसायी केदार गिरीले जानकारी गराए  । एशियाली विकास बैंकको १९ करोड ५४ लाख ४७ हजार ३४२ रुपैयाँको लागतमा चारपाने–राजगढ सडकखण्ड निर्माण भइरहेको छ । सडक निर्माणका लागि कञ्चन निर्माण सेवाले काम गरिरहेको छ ।

सडकको १५ दशमलव ४८ किलोमिटर लम्बाइ रहेको छ भने सडकको चौडाइ साँढे पाँच मिटर रहेको छ ।सडक निर्माणको काम सकिन नपाउँदै बिग्रने समस्या नेपालका लागि नयाँ होइन । निर्माणको काम सकिँदा नसकिँदै खाल्टाखुल्टी पर्ने र भत्किने समस्याले सबैलाई आजित पारेको बेला देशमै पहिलोपटक नयाँ प्रविधि अपनाएर सडक निर्माण थालिएको झापा क्षेत्र नम्वर ३ बाट निर्वाचित सांसद लिङ्देनले बताए ।

ठेकेदारको लापरवाही, कमसल निर्माण सामग्री प्रयोग र पुरानो प्रविधि अँगाल्दा शहरी र ग्रामीण क्षेत्रमा निर्मित सडक काम सकिएको केही समयभित्रै बिग्रिने समस्या व्याप्त रहेको बेला पहिलोपटक पीवीएम पद्धतिबाट नेपालका १६ जिल्लाका ग्रामीण सडकलाई स्तरोन्नति गर्न लागिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *