झापाका ११ स्थानीय तहमा आज एकसाथ अस्पतालको शिलान्यास
Published:
by .झापा । झापाका ११ वटा स्थानीय तहमा आज एकसाथ १० देखि १५ शैय्याका अस्पताल शिलान्यास हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र १५ शैय्याको अस्पताल निर्माणको शिलान्यास एकैसाथ आज गर्न झापाका १० सहित देशका ३९६ स्थानीय तहलाई पत्राचार गरेको थियो । कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगी हुने भएकाले मंसिर १५ गते एकैसाथ शिलान्यान्स गर्ने व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ ।
देशभरका ३९६ स्थानीय तहको स्वास्थ्य संस्थामा ५,१० र १५ शैय्याको अस्पताल निर्माणका सूचीकृत गर्दै अर्थ मन्त्रालयमार्फत बजेट निकासा समेत भइरहेको मन्त्रालय जानकारी दिएको छ ।
यो चरणमा झापा जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकामा अस्पताल बन्ने भएको हो । बिर्तामोड नगरपालिकाको अनारमनी स्वास्थ्य चौकीलाई १५ शैंय्याको अस्पताल बनाउनका लागि १ लाख , गौरादह नगरपालिकाको गौरादह स्वास्थ्य चौकीमा १५ शैय्याका लागि १ लाख , कनकाई नगरपालिकाको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ३२ हजार ३३० , मेचीनगर नगरपालिकाको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ४२ हजार ८०० , शिवसताक्षी नगरपालिकाको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ३२ हजार ३३० रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै बुद्धशान्ति गाउँपालिकाको बुधबारे स्वास्थ्य चौकीमा १० शैय्याका लागि ८५ हजार , झापा गाउँपालिकाको टाघनडुब्बा स्वास्थ्य चौकीमा १० शैय्याका लागि ८५ हजार ,कमल गाउँपालिकाको तोपगाछी स्वास्थ्य चौकीमा १५ शैय्याका लागि ४२ हजार ८०० , गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ३२ हजार ३३० ,कचनकवल गाउँपालिकाको बनियानी प्राथमिक स्वास्थ्य केन्द्र १५ शैय्याका लागि ३२ हजार ३३० र हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शैय्याका लागि ४० हजार २०० रुपैयाँ छुट्याइएको छ । मन्त्रालयले लागत इस्टिमेट तयार गरी थप ३० प्रतिशत बजेट सम्बन्धित पालिकाले बेहोर्ने व्यवस्था गरेको छ ।
Comments