Sajhamanch Archive

राजश्व उठाउनभन्दा खाजा स्वाहामा होडबाजी !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

भद्रपुर । भद्रपुरस्थित छोटी भन्सारको स्तरीकरण गरी भन्सार विभागले मूल भन्सार कै मान्यता दिए पनि छोटी भन्सार कै रूपमा काम चलाउँदा कर्मचारीले राजश्व भन्दा खाजश्वमा बढी जोड दिन थालेका छन् ।

मूल भन्सारको मान्यता गत आर्थिक वर्षको अन्त्यतिर प्रदान गरिएको सो भन्सारमा विभागले दरबन्दीसहित कर्मचारी पठाउन नसकेपछि मेची भन्सारबाट आलोपालोमा आउने कर्मचारीले ठूला व्यापारीसित साँठगाठ गरी राजश्वलाई खाजश्व बनाउने गरेका हुन् ।

साना तथा पोके व्यापारीका पोका खोलेर गन्तिमा सामानको भन्सार काट्ने कर्मचारीहरू ठूला व्यापारीका सामानको अनुमानमा राजश्व काटी मिलिभगतमा खाजश्व बनाउने गरेका छन् ।

विगत वर्षहरूमा मेची नदीमा पूल निर्माण नहुँदा कम राजश्व संकलन हुने असार, साउन महिनामा प्रति महिना एक करोड ४० लाखसम्म राजश्व संकलन गर्ने भद्रपुर भन्सारले यस वर्ष कुनै पनि महिना करोड कटाउन सकेको छैन ।

छोटी भन्सारमा राजश्व संकलनको लक्ष्य नतोकिने अवस्थालाई कर्मचारीले खल्ती भर्ने बहाना बनाउने गरेको व्यापारीहरू नै बताउँछन् । साना व्यापारीले राजश्व कम तिर्न कर्मचारीसित मिलिभगतमा सामान ल्याउनुभन्दा राजश्व तिर्न फाइदा हुने कारण गन्तिमा राजश्व तिर्ने गरेको स्वीकार गर्छन् । तर ठूला व्यापारीको राजश्व रकम समेत ठूलो हुने हुँदा कर्मचारीसित मिलिभगतमा राजश्व कम काटे मोटो रकम फाइदा हुने गरेको जनाउँछन् ।

केही कार्यालय सहयोगी तथा कम्प्युटरमा बस्ने कर्मचारी वर्षौंदेखि छोटी भन्सारमा निरन्तर कार्यरत रहेका कारण महिना–महिनामा फेरिने अधिकृतसित व्यापारीको मिलिभगत गराएर राजश्व कम तिरेर सामान कटाउने बिचौलियाको भूमिकामा उनीहरू रहने गरेको व्यापारी कै भनाई छ ।

भद्रपुर नाकाबाट मेसीनरी पार्टपूर्जा, कपडा, रासायनिक विषादी, चप्पल, जुत्ता, कृषि उपकरणका पार्ट, सूर्तिलगायत आयत हुने गरेको छ । पछिल्लो समय राजश्व बढी संकलन हुने सूर्ति तथा मेसीनरी पार्टपूर्जाबाट कम परिणाममा राजश्व काटिने गरेका कारण राजश्व संकलनको परिणाम खुम्चँदै गएको स्थानीय बताउँछन् ।

ठूला व्यापारीले कर्मचारी हात लिएर कम परिणाममा राजश्व काटे पनि भन्सारबाट बाहिरिने सामान वैध हुने गरेको छ । तिर्नुपर्ने राजश्वको ४० प्रतिशत रकमसम्म भन्सारमा आइपुग्न पाएको अवस्था छैन । अनुगमन गर्ने निकाय कमजोर रहँदा सरकारी रकममा व्यक्तिको रजाईं भइरहेको जानकारहरु बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *