Sajhamanch Archive

एक लाख ६३ हजार भन्दा धेरै नेपाली स्वदेश फर्किए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका एक लाख ६३ हजार भन्दा धेरै नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ ।

कोभिड–१९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । उडान स्थगन गरेको करिब ५ महिनापछि सरकारले भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति दियो ।

कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई चार्टर उडानमार्फत नेपाल फर्कने व्यवस्था मिलाएको थियो । श्रमिकको उद्धारकै लागि भनेर सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका–२०७७ स्वीकृत गर्दै अलपत्र नेपालीलाई उद्धारको लागि ७५ करोड छुट्याएको छ ।

कात्तिक २३ गते आइतबार बसेको सीसीएमसीको बैठकले सरकारलाई उद्धार उडान स्थगन गर्न सिफारिस गरेको छ । योसँगै विदेशमा अलपत्र श्रमिकहरु आफ्नै खर्चमा स्वदेश फर्किनुपर्ने भएको छ । कोरोना महामारी सुरु भएपछि सबैभन्दा धेरै यूएई बाट मात्रै ४९ हजार ९४९ नेपाली स्वदेश फर्किएका छन् । यस्तै कतारबाट ३४ हजार ५७२ नेपाली स्वदेश फर्किएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *