Sajhamanch Archive

दुई दर्जन हेलिकोप्टर ९ महिनादेखि विमानस्थलमै थन्किए

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये नागरिक उड्डयन लकडाउन खुकुलो भएसँगै क्रमशः चलायमान हुने अवस्थामा छ । तर, यस भित्रको पनि हेलिकोप्टर व्यवसाय भने चरम संकटमा छ ।

नेपालमा हेलिकोप्टरका मुख्य यात्रु विदेशी पर्यटक हुन् । यसमा पनि पर्वतारोहण र पदयात्रा निस्केका यात्रुले हेलिकोप्टर बढी प्रयोग गर्छन् । तर, कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै पर्यटक आगमन बन्द भएपछि हेलिकप्टरहरु थन्किए ।

हेलिकोप्टर सोसाइटी अफ (नेपाल)का अनुसार लकडाउन खुलेर परिस्थिति सामान्य बन्दै गए पनि दुईवटा हेलिकोप्टर कम्पनी– फिस्टेल र एयर डाइनेस्टीले सेवा शुरु गर्न सकेका छैनन् । सेवा शुरु गरेका कम्पनीहरुले पनि एकभन्दा बढी हेलिकोप्टर चलाउन सकेका छैनन् । बिभिन्न कम्पनीका दुई दर्जन हेलिकोप्टर काठमाडौं विमानस्थलमा थन्किएका छन् ।

मनाङ एयरका प्रवन्धक राजु न्यौपाने पर्यटकीय सिजन शुरु भएर पर्यटक आउने वातावरण नबनेसम्म ती हेलिकोप्टर उड्ने सम्भावना देख्दैनन् । उनका अनुसार, सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि हेलिकोप्टर सेवामा धमाधम लगानी थपिएको थियो ।

एक दर्जन हेलिकोप्टर मात्र आकासमा

हेलिकोप्टर सोसाइटीको तथ्यांक अनुसार अहिले ११ कम्पनीका १३ वटा हेलिकोप्टर मात्र उडिरहेका छन् । त्यसमध्ये पनि कैलास एअरको एउटा हेलिकप्टर गत आइतबार नुवाकोटमा चरा ठोक्किएर ग्राउण्डेड भएको छ ।

प्रभु र श्री एयरका तीन–तीन हेलिकोप्टर उडेका छन् भने सिम्रिक एयरका २ वटा । अल्टिच्यूड एयर, हेलि एभरेष्ट, कैलास, मनाङ र माउन्टेन हेलिकोप्टरका एक–एक हेलिकोप्टर उडेका छन् ।

उडिरहेका अधिकांश हेलिकोप्टर गम्भीर बिरामी, दुर्घटनामा परेका घाइते, कोरोना संक्रमित आदिको आकस्मिक उद्धार सेवामा प्रयोग भइरहेका छन् । केहीले विभिन्न आयोजनाको काम र प्याकेजमा यात्रु बोक्ने बिजिनेश पाएका छन् ।

विदेशी हेलिकोप्टर पाइलट विस्थापित

९ महिनासम्म विजनेश नभएपछि अधिकांश कमपनीले विदेशी पाइलटलाई बिदा गरिसकेका छन् । मनाङ एयरका प्रवन्धक न्यौपानेका अनुसार कुनै कम्पनीसँग एक–दुई जना रहे पनि अधिकांशले विदेशी पाइलटलाई बिदा गरेका छन् ।

नेपाली हेलिकोप्टर पाइलट दुई दर्जन हाराहारी मात्र रहेकाले पर्वतारोहण र मानसरोवर जाने सिजनमा सबैजसो हेलिकोप्टर कम्पनीले विदेशी पाइलट लिन्छन् । अहिले दुवै क्षेत्रमा पर्यटक नभएका कारण हेलिकोप्टर थन्किएका छन् । विदेशी पाइलटहरुलाई पनि विदा गरिएको छ ।

सोसाइटीको तथ्यांक अनुसार व्यस्त मौसममा एउटा हेलिकोप्टरले औसत मासिक १ सय घण्टासम्म उडान गरेर प्रतिघण्टा १७ सय डलर कमाइरहेका थिए । अहिले त हेलिकोप्टरको मासिक उडान समय साविकको तुलनामा आधा पनि पुग्दैन । भाडा पनि औसत एक हजार डलर प्रतिघण्टामा झरेको छ ।

प्रतिउडान ७०० डलरसम्म घाटा व्यहोर्नु परेको व्यवसायीहरु बताउँछन् । त्यसमाथि धेरैजसो हेलिकोप्टर थन्किएर बसेका छन् । यसबाट मासिक करोडौं रुपैयाँ घाटा भइरहेको संघको भनाइ छ ।

एकमात्र हेलिकोप्टर हुने कम्पनीले संचालन खर्च धान्न मासिक औसत ५० घण्टासम्म उड्नुपर्ने व्यावसायीहरु बताउँछन् । त्यसभन्दा बढी उडान भए मात्र त्यो कम्पनी नाफामा जान सक्छ ।

                                                                                                                 अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *