Sajhamanch Archive

फिल्म क्षेत्र खुलाउने सञ्चार मन्त्रीको आश्वासन

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

कोरोनाको संक्रमण रोकथामका लागि सरकारले सबैभन्दा अगाडि सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । यसको केही दिनमा सिंगो देश लकडाउन भयो । यसपछि फिल्म निर्माण पनि रोकियो । दशैंदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन भइरहेका छन् । तर, आठ महिनादेखि बन्द रहेका सिनेमा हल खोल्न सरकारले कुनै चासो देखाएको छैन ।

काठमाडौं कोरोनाको हटस्पट बनेको भन्दै सरकारले अझै १५ दिन सिनेमा हल सञ्चालनमा रोक लगाएपछि हल सञ्चालकहरु आक्रोशित भएका छन् । सरकारले अन्य क्षेत्रलाई सञ्चालनको अनुमति दिएर फिल्म क्षेत्रलाई सौतेनी व्यवहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रने तयारीमा छन् ।

आठ महिनाभन्दा लामो समयदेखि फिल्म सम्बन्धि गतिविधि ठप्प हुँदा यस क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीको अवस्था दयनीय बनेको छ भने कति पलायन हुने अवस्थामा पुगेका छन् । फिल्म क्षेत्रको अस्तित्व बचाउन पनि यस क्षेत्रलाई सञ्चालनको अनुमति दिनुपर्ने मागसहित चलचित्र निर्माता संघसहितको टोलीले सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङसँग भेट गरेको छ ।

निर्माता संघका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य आकाश अधिकारीले समस्या र समाधानका १७ बुँदे विज्ञप्तिसहित सञ्चार मन्त्री गुरुङसँग भेट गरेको बताएका छन् । मन्त्री गुरुङले चाँडै फिल्म क्षेत्र खुलाउन प्रयत्न गर्ने आश्वासन दिएको उनले बताए । उक्त भेटमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र अभिनेता भुवन केसी पनि उपस्थित थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *