Sajhamanch Archive

सहकारीको कालोसूचिवालालाई मेनपाले कुनै सेवा सुविधा नदिने

Published: in सहकारी, by .

मेचीनगर । मेचीनगरस्थित मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाले वितेको आर्थिक वर्ष २०७४/०७५ मा निक्षेप मौज्दात ३ करोड ३४ लाख २ हजार ६७५ रुपैयाँ पुर्याएको छ । जुन रकम अघिल्लो आर्थिक वर्षको तुलनमा १ करोड १४ लाख ६८ हजार ४१८ रुपैयाँले बृद्धि भएको हो ।

संस्थाको शनिबार सम्पन्न ११औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष भगिरथ राईले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदनमा संस्थाको चारवर्षे तथ्याङ्कमा चुक्ता शेयर पूँजी, जगेडा कोष, अन्य कोष, जोखिम कोष व्यवस्था, भुक्तानी दिनुपर्ने हिसाबमा समेत बृद्धि भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को अन्त्यसम्ममा ४ करोड ३१ लाख ६२ हजार ४६ रुपैयाँ कूल पूँजी तथा दायित्व रहेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाको उद्घाटन गर्दै मेची नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगरका मुख्य बजारका अव्यवस्थित मासु पसलहरुलाई व्यवस्थित गर्न आधुनिक स्तरको बधशाला निर्माण गर्ने बताए । नगरमा मासु व्यवसायीहरुको अवस्था दयनीय रहेको उनको भनाई थियो ।

नगरप्रमुख आचार्यले व्यवस्थित बधशाला र मासु पसल नभएकै कारण उपभोक्ताहरुले स्वच्छ र स्वथ्य मासु उपभोग गर्न नपाएको भन्दै आधुनिक बधशालाको विस्तृत अध्ययन अवलोकनका लागि प्राविधिकहरुको टोली परिचालन गरिएको र ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रष्ट पारे ।

उचित तथा व्यवस्थित बधशाला र मापदण्ड अनुसारको मासु पसल नभएकै कारण व्यवसायीहरुले समस्या व्यहोर्नुपरेको प्रमुख आचार्यको भनाई थियो । निकट भविष्यमा उचित बधशाला र मासु पसल व्यवस्थित गर्नेतर्फ नगरपालिका लागेको र निर्माण पश्चात मापदण्ड अनुसार व्यावसाय सञ्चालन नगर्ने व्यावसायीहरुलाई कारवाही गर्ने उनले चेतावनीसमेत दिए ।

स्थानीय तहमा सहकारी सहकारी नगर समिति तत्काल निर्माण गरी सहकारीको ऐनको ड्राफ्ट तयार हुन लागेको र स्थानीय तहलाई सहकारी मैत्री बनाउने उनको भनाई थियो । सहकारीबाट कर्जा लिएर नतिर्ने वा सहकारीले कालो सूचीमा राखेका जो कोहीलाई पनि स्थानीय सरकारले दिने सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने उनले बताए ।

ऋण लिएर चुपचाप बस्न नपाइने भएकाले सहकारीको ऋण खाएर चुपचाप बस्नेलाई नगरपालिकाले कारवाही स्वरुप कुनै पनि सेवा सुविधा उपलब्ध नगराउने आचार्यको भनाई थियो । उनले सहकारीका नाममा निक्षेपकर्ताको ऋण लिएर कुलेलम ठोक्ने, रकम हिनामिना गर्ने सहकारीका मूल्य मान्यता र ऐन कानुन विपरीत जाने जुनसुकै सहकारी संस्थालाई कारवाही गर्न पनि स्थानीय सरकार पछि नपर्ने बताए ।

कार्यक्रमका अर्का वक्ता कर्मशियल एग्रीकल्चर एलायन्सका केन्द्रीय अध्यक्ष तथा जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले सहकारीहरु अब उत्पादनमुखी बन्नुपर्नेमा जोड दिए । उनले अब कुनै पनि क्षेत्रमा लगानी गर्ने हो भने त्यसले सबैलाई आत्मनिर्भर बन्न सक्ने हुनुपर्ने बताए ।

परिणाम नदिने क्षेत्रमा कुनै पनि सहकारी र स्थानीय तहले लगानी गर्न नहुने उनको भनाई थियो । स्थानीय तहहरुले सहकारीकर्मीहरुको भेला बोलाएर सहकारी मैत्री ऐन कानून निर्माण गरी सहकारीप्रति सकरात्मक हुनसमेत सापकोटाले आग्रह गरे ।

उद्घाटन सत्रका अधिकांश वक्ताहरुले सहकारीलाई व्यवस्थित र सबै सदस्यहरुले अपनत्व ग्रहण गर्न सक्ने संस्थाका रुपमा अघि बढाउन सुझाएका थिए । सहकारी सञ्चालकहरु सहकारीका मूल्य, मान्यता र सिद्धान्त विपरीत चलेका कारण धेरै सहकारी संस्था धराशायी बनेको र निक्षेपकर्ताको रकम जोखिममा परेको सापकोटाले बताए ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटी, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अंगतबहादुर थापा, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हर्कबहादुर फियाक, नेपाली नागरिक समाजका केन्द्रीय सदस्य सुभद्रा भट्टराई अर्याल, काँकरभिट्टा खाद्य प्रयोगशालाका प्रमुख सुधाकरप्रसाद सिंह, नेकपाका झापा जिल्ला सदस्य देवकुमार राई, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्यलगायतले बोलेका थिए ।

कर्मचारीदेखि ऋणीसम्मलाई सम्मान

संस्थाले ११औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाका ज्येष्ठ सदस्यदेखि कर्मचारीसहित ऋणीलाई समेत एउटै मञ्चमा सम्मान तथा पुरस्कृत गरेको छ ।

कार्यालय प्रमुख मुना गुरागाईँका अनुसार दशमी चौधरी, देवीमाया तामाङ, भद्रीमाया मुखिया, धनबहादुर भुजेल, गोमादेवी गुरुङ, सुवीदेवी खनाललाई ज्येष्ठ सदस्य सम्मान २०७५ ले पुरस्कृत तथा सम्मानित गरिएको हो ।

यसैगरी चन्द्रमाया तामाङ, हरिप्रसाद प्रसाईलाई वर्ष उत्कृष्ट बचतकर्ता सम्मान २०७५ को सम्मान र पुरस्कार प्रदान गरिएको छ ।

वर्ष उत्कृष्ट ऋणी सदस्य सम्मान २०७५ बाट मोहन टुडु सतार र मनिषा थापा पाठक पुरस्कृत तथा सम्मानित भए भने उत्कृष्ट मासु व्यवसायी सदस्य सम्मान २०७५ घनश्याम दाहाल र वर्ष उत्कृष्ट कर्मचारी सम्मान २०७५ सहायक प्रथम देवेन्द्र मगर र बजार प्रतिनिधि राजु राजवंशीले हात पारे ।

उनीहरुलाई नगर प्रमुख विमल आचार्य, दुर्गाप्रसाद सापकोटा लगायतले नगदसहित दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।

सचिव राजकुमार पराजुलीले सञ्चालन गरेको उद्घाटन सत्रमा सहभागी सबैलाई संस्थाका उपाध्यक्ष गणेशप्रसाद पोखरेलले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *