Sajhamanch Archive

प्रेस प्रतिनिधि कार्ड जिल्ला हुलाकबाटै लिन सकिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । पत्रकारहरुले अबदेखि सरकारले दिने प्रेस प्रतिनिधि कार्ड जिल्ला हुलाक कार्यालयबाटै लिन पाउने भएका छन्। सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीस्तरको निर्णयबाट प्रेस प्रतिनिधि कार्ड नवीकरण र नयाँ लिने व्यवस्था जिल्ला हुलाकबाटै गरिएको हो।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले मंगलबार गरिएको निर्णयानुसार अबदेखि सम्बन्धित जिल्ला हुलाक र हुलाक निर्देशनालयबाटै प्रेस पास लिन पाउन सकिने बताए।

‘मन्त्रिस्तरीय निर्णय भएको छ। प्रेस पासका लागि सूचना तथा प्रसारण विभागमा एकदमै लामो लाइन भयो, गुरुङले भने, ‘देशभरबाट हजारौं खर्च गरेर काठमाडौं आउनुपर्ने बाध्यता हामीले हटाएकाछौं।’

उनले नयाँ प्रेस कार्ड लिनुपर्दा पनि हुलाक कार्यालयमै पत्रकारहरुले निवेदन दिन सक्ने बताए । जिल्ला हुलाकमा परेको निवेदनको फाइल सूचना तथा प्रसारण विभागले स्वीकृत गरेर जिल्लामै पठाएपछि पत्रकारले प्रेस प्रतिनिधि कार्ड पाउने गुरुङले बताए ।

गुरुङले प्रेस पास लिन काठमाडौँ नै धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको बताए।

‘परिचयपत्र नवीकरणकै लागि पत्रकारले ठूलो आर्थिक व्ययभार व्यहोर्नुपर्ने, प्रेस पास लिने झण्झटिलो व्यवस्था, काठमाडौँ आउनुपर्ने, लामो लाइन बस्नुपर्ने, तत्काल परिचय पत्र नपाउने, पत्रकार महासङ्घलाई गुहार्नुपर्ने अवस्थालाई अन्त्य गर्न मन्त्रिस्तरीय निर्णयबाट ७७ जिल्लाका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रनिनिधि प्रमाणपत्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ, उनले भने।

सम्बन्धित जिल्लाका हुलाक कार्यालयबाट प्रेस पास नवीकरण हुने व्यवस्था सँगसँगै नयाँ परिचयपत्र लिने पत्रकारका लागि पनि आवश्यक कागजपत्र सम्बन्धित जिल्लामा पेश गर्न सकिने व्यवस्था भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *