Sajhamanch Archive

सडक बिस्तार भएसँगै सर्वसाधारणलाई राहत

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इलाम । इलाम माई नगरपालिकास्थित वडा नं. ३ दानाबारी र वडा नं. ९ गुनमुने जोड्ने पर्यापर्यटन सडक खण्डमा सडक बिस्तार तथा स्तरोन्नतिको कार्य भइरहको छ ।

कूल १० किलोमिटर सडकमध्ये हाल गुनमुने हिले खोल्सीदेखि नारायण खोल्सीसम्म ६ किलोमिटर सडकको काम भइरहेको छ ।

गुनमुने उपभोक्ता समूहका अध्यक्ष नरबहादुर मगरका अनुसार उक्त योजनाको लागि आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाले ६ लाख, वडाले २ लाख ५० हजार बजेट निकासा गरेको थियो ।

यसैगरी एक्सकाभेसनका लागि सानिमा माई जलविद्युत आयोजनाले २ लाख ५० हजार र जन श्रमदानबाट समेत गरी जम्मा ११ लाख १९ हजार खर्च भइसकेको जनाइएको छ ।

यसैवर्षको वैशाखदेखि सुरू गरिएको सडक बिस्तार कार्य अन्तर्गत हालसम्म ३५६ मिटर र ११० मिटर गरी जम्मा ४६६ मिटर बाटोमा स्टोन सोलिङ्ग गरिएको छ । बाटोको ६ हजार मिटरसम्म नालीसहित एक्सकाभेसनको काम सम्पन्न भइसकेको जनाइएको छ ।

सानिमा माई जलविद्युत आयोजनाले ६५ मिटर सडकमा गतवर्ष नै स्टोन सोलिङ्ग गरिदिएको थियो ।

अधिकांश काम सम्पन्न भइसकेको उक्त योजनाको आ.व. २०७५/७६ मा नगरपालिकाले ९ लाख बजेट स्वीकृत गरिसकेको हुनाले बाँकी काम पनि यसैवर्षमा सक्ने लक्ष्य रहेको उपभोक्ता समितिले जनाएको छ ।

सडकमा अझै ४०० मिटर स्टोन सोलिङ्ग गरिने छ भने नाली सुधार लगायत अन्य कार्यहरू पनि गरिने छ ।

गतवर्षहरूमा बर्षातको समयमा मोटरसाइकलसमेत चलाउन गाह्रो हुने सडकमा अहिले साना तथा ठूला सवारी साधनहरू बिना अवरोध गुड्न सक्छन् । सडक सुधार भएसँगै बिर्तामोडदेखि गुनमुने, चिसापानी, रवि, सिद्धिथुम्का र सोयाकसम्म चल्ने गाडीहरूलाई राहत मिलेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *