Sajhamanch Archive

जो बाइडनले पूरा गरे अमेरिकी राष्ट्रपतिमा जितको औपचारिकता

Published: in विश्व समाचार by .

इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै जो बाइडनले अमेरिकी राष्ट्रपतिमा जितका लागि आवश्यकपर्ने औपचारिकता पनि पूरा गरेका छन् । सोमबार देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ ।

जितले औपचारिकताको आधिकारिकता पाएसँगै नयाँ वर्षको २० जनवरीबाट विश्वकै शक्तिशाली पद सम्हाल्न जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बाटो खुलेको हो । गत नोभेम्बर ३ मा सम्पन्न अत्यन्तै विवादास्पद निर्वाचनमा डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रपति बाइडेनले ३०६ र उहाँका रिपब्लिकन प्रतिष्पर्धी एवं वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका थिए ।

अमेरिकी निर्वाचन प्रणालीमा प्रत्येक राज्यका मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेजका सदस्यहरुले राष्ट्रपति र उपराष्ट्रपति चुन्न मत दिने गर्दछन् । कुनै प्रमाण बिनै लगातार चुनावमा धाँधली भएको आरोप लगाएका ट्रम्पले सम्पूर्ण ढोका बन्द हुँदा पनि हार स्वीकारेका छैनन् । हुँदा हुँदा उनले इलेक्टोरल कलेजले दिने मतबाट आफू विजयी हुने दाबीसमेत गर्दै आएका थिए ।

अदालतलाई प्रयोग गरेर केही संग्रामीमैदान मानिएका राज्यहरुको चुनावी परिणाम उल्ट्याउने ट्रम्पको प्रयास पनि सर्वोच्च अदालतले मुद्दा नै खारेज गरिदिएकाले सकिएको छ । आउँदो २० जनवरी २०२१ को दिन आयोजना गरिने भव्य समारोहसँगै बाइडनको हातमा ह्वाइट हाउसको शक्तिको साँचो पुग्नेछ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *