Sajhamanch Archive

अबोध बालबालिकाको साहारा स्वबोध

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा रहेको स्वबोध साधना केन्द्र २० वर्ष अघिदेखि बालबालिकाको साहारा बन्दै आएको छ ।

अभिभावकविहीन,अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको केन्द्रले हालसम्म २०० भन्दा बढी बालबालिकाको अभिभावकत्व ग्रहण गरिसकेको साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलियाले बताए ।

सुरुवाती दिनमा धार्मिक संस्थाका रुपमा स्थापित भए पनि सो केन्द्रले समाजसेवा गर्ने हेतुले प्रत्येक टोलबाट ५/५ जनाका दरले विद्यार्थीहरुलाई सहभागी गराई अध्यापन गर्न सुरु गरेको थियो । तर सरकारको नीति अनुसार विद्यालय सञ्चालन गर्न दर्ता गर्नुपर्ने बाध्यताले भएकाले पाँच वर्षसम्म मात्र विद्यालय सञ्चालन गर्न सकिएको साधना केन्द्रका सचिव केदारनाथ भट्टराई बताउँछन् ।

भट्टराई थप्छन्, समाज सेवाका लागि स्थापित संस्था भएकाले त्यसपछि हामीले अनाथ, अभिभावक विहीन बालबालिकालाई संरक्षण गर्दै आएका छौं । जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, जिल्ला प्रहरी कार्यालय मार्फत आएका आमाबाबु बिहीन, असहाय, अनाथ, टुहुरा, आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई भर्ना लिने गरेका छौं । उनीहरुलाई शिक्षा, स्वास्थ्य, खानपान, बासस्थान लगायतको व्यवस्था साथै बालबच्चाहरुलाई परिवारको अभाव खड्किन दिएका छैनौं ।

साधना केन्द्र सञ्चालन गर्न मुष्ठिदाताहरुले मासिक रुपमा चामल र अन्य सहयोगीहरुले आर्थिक सहयोग गर्ने गरेका छन् । मासिक रुपमा ४ क्विन्टल चामल संकलन गर्ने गरेका छौं । सहयोगी मनहरुले मासिक रुपमा गर्नु भएको सहयोगले केन्द्र सञ्चालन गर्न केही सहज हुँदै आएको छ । गत आर्थिक वर्षमा प्रदेश तथा स्थानीय तहले ३/३ लाख रकम सहयोग गरेको र यसवर्ष पनि सहयोगको अपेक्षा लिएको भट्टराई बताउँछन् ।

करिब ९ कठठा २ धुर जग्गा रहेको साधना केन्द्रमा ४ वर्षदेखि १७ वर्षसम्मका बालबालिका रहेका छन् । बालबच्चाको रेखदेख र खाना पकाएर खुवाउन एकजना सहयोगी राखिएको छ । यस केन्द्रले बालबालिकाको संरक्षण गर्नुुको अतिरिक्त संगीत, ध्यान र भजन लगायतका उत्प्रेरणात्मक कार्य गर्ने गरेको भट्टराई सुनाउँछन् ।

संघीय सरकार, प्रदेश र स्थानीय तहले केही स्रोत साधन जुटाई दियो भने वृद्धआश्रम पनि सञ्चालन गर्ने उद्देश्य रहेको छ । अहिलेको परिपेक्षमा २५ जनाको संरक्षण गरिरहेका छौं, आगामी दिनमा यसको दायरा पनि बढाएर लैजाने लक्ष्य राखेको भट्टराईले बताए ।

विगत सात वर्षदेखि बालबच्चाको रेखदेख गर्दै आएकी तिलमाया थापा अनाथ बालबालिकाको आमा बन्न पाउँदा आनन्द भएको महसुस गर्छिन । छोराबुहारी र आफन्तहरुले किन यति धेरै दु:ख गर्छेस भनेर प्रश्न गर्ने गर्छन् । नानीहरुलाई रेखदेख गर्ने सहयोगी आफन्तको मा गएर आउँछु भनेर हिँडनु भएको रहेछ त्यसैले मलाई सञ्चालक समितिले २/४ दिन बालबालिकाको हेरचाह गर्दिनु भनेर बोलाउन भएको थियो तर १०/१५ दिनसम्म पनि सहयोगी फर्किएर नआउनु भएकाले बालबच्चाको रेखदेख गर्ने जिम्मा मलाई दिनु भयो वहाँहरुको आग्रहलाई अस्विकार नै गर्न सकिन,बस्दा-बस्दै यहाँ बसेको पनि सात वर्ष भयो अब त यी नानीहरुलाई छोडेर जान मनले मान्न छाड्यो थापा सुनाउँछिन् ।

म छुटटी लिएर कतै गएको छु भने पनि मेरो मनमा ठूलाले साना नानीलाई कतै कुटेकी, के गर्दै होलान, के खाएँ होलान भन्ने कुरा मात्र मनमा खेलाउने गर्छ । म केही गर्दै छु भने पनि उनीहरु आफुले गर्न सक्ने सक्दो सहयोग गर्छन् । मलाई यति चाँही खुसी लागेको छ कि यिनीहरुको मनमा आफुहरु टुहुरा चाँही होइनौं भन्ने महसुस गराउन सफल भएको छु ।

कञ्चन बस्नेत विगत ५ वर्ष देखि साधना केन्द्रलाई आफनो साहारा बनाएर बस्दै आएकी छिन् । सानै उमेरमा अभिभावक विहीन भएकी कञ्चन आफना दुईभाइ दिपेन्द्र र सुवासका साथमा ओखलढुङगाबाट स्वबोध केन्द्र आएकी हुन् । परिवारसँग सँगै बस्ने रहर त कसलाई हुँदैन र तर के थाहा आज अनाथ हुन्छ भनेर ? जन्मदिने आमाबुबा साथमा नभए पनि कर्म दिने असल साधना केन्द्र पाएकोमा कञ्चन आफुलाई भाग्यमानी ठान्दछिन् । कक्षा आठमा पढ्ने मिठो आवाजमा गीत गुन्न गुनाउन सक्ने प्रतिभाशाली कञ्चन आमाबुबाको अभाव स्वबोधले कहिले खडकिन नदिएको सुनाउँछिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *