Sajhamanch Archive

ठेकेदारको लापरवाहीका कारण सडक दुर्घटना बढेको भन्दै स्थानीयको आक्रोस

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको देउनिया खोला उत्तरको निर्माण ठेकेदारको चरम लापरवाहीले सडक दुर्घटना बढाएको भन्दै स्थानीयले आक्रोस पोखेका छन् ।

निर्माण कार्यको गुणस्तरमाथि समेत प्रश्न उठेको सो सडक खण्डमा निर्माण सामग्री जताभावी थुपारेर वर्षौं वितिसक्दा पनि काम नगरेपछि पुल तथा कल्र्भट क्षेत्र दुर्घटना स्थल बनेर यात्रुको ज्यान जोखिममा परेको भन्दै स्थानीयले आक्रोस पोखेका हुन् । यस क्षेत्रमा रात विहान हिड्ने यात्रुबाहक सवारी साधन जताभावी थुपारिएको गिटी बालुवाका कारण दुर्घटनामा परिरहेको स्थानीय बताउँछन् ।

३ वर्ष भित्र निर्माण सम्पन्न गर्नु पर्ने सडक निर्माणको पाचौं वर्ष वित्न लाग्दा समेत अधकल्चो रहेको भए पनि नियामक मौन रहेको पाइएको छ ।

सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको स्थानीय राकेश लिम्बुको भनाइ छ । निर्माण व्यवसायीले सम्झौता विपरित निर्माण सामग्री प्रयोग गरिरहे पनि सरकारी पक्ष रमिते मात्र हुँदा निर्माण व्यवसायीको मनोमानी चलिरहेको स्थानीय बताउँछन् ।

निर्माण पक्षले नाली बनाउने, कल्वट बनाउने, वेश ग्राभेल भर्ने, ग्राभेलिङ गर्ने, आधार पिच तयार गर्ने र पिच निर्माण गर्ने गरी विभिन्न टुक्रामा काम गरिरहे पनि हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा कमै जाने गरेका छन् । गुणस्तरमाथि निगरानी नहुँदा निर्माण पक्षधरका मजदुरकै तजविजमा काम भैरहेको देखिने गरेको छ । दुई खण्ड गरेर काम भइरहेको सडक निर्माण कम्पनीले निर्माण गरिरहेका नाली तथा कल्र्भटका काम गुणस्तरहिन भएको, ग्राभेलिङको काम पनि नियमविपरित रहेको, आधार कालोपत्रेको काम समेत गुणस्तरीय नभएको स्थानीयले बताएका छन् । निर्माण गुणस्तर तथा नियन्त्रण गर्ने हुलाकी सडक परियोजनाका इञ्जिनियरले कामको गुणस्तरियता र ढिलासुस्ती रोक्न सकिरहेको छैन ।

नेकपा भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी हुलाकी सडक परियोजना, जिल्ला प्रशासन कार्यालय झापा लगायत निकायमा साँघुरा ठाउँमा सडकमा जताभावी निर्माण सामग्री छोडेर पुल , कल्र्भट जस्ता संवेदनशील क्षेत्रमा दुर्घटना जोखिम बढाउने निर्माण ठेकेदारलाई कारवाही गर्न माग गरिएको भए पनि कारवाही नभएको बताउँछन् ।

सो सडकको साविक पृथ्वी नगरको सोमवारे उत्तरको चारआलीसम्मको २० किलोमिटर सडक निर्माणका लागि याक्थुमम्बा÷कञ्चनजंघा जेभीले ठेक्का लिएर काम गरिरहेका छन् । ठेकेदार कम्पनीका सञ्चालक राजनीतिक पहुँच बनाएरसरकारी पक्षसित नाता जोडेर निर्माणमा मनोमानी गरिरहेको समेत स्थानीयको आरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *