Sajhamanch Archive

झापाली समाज युएईकोे न्यानो कपडा बुद्धशान्तिका विद्यार्थीलाई

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by .

बुद्धशान्ति । झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका झापालीहरुको सामाजिक संगठन झापाली समाज युएईले हरेक वर्ष झैँ यस वर्ष पनि झापा जिल्लाका विभिन्न विद्यालयका गरिव तथा अति विपन्न छात्र/छात्राहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम सुरु गरेको छ ।

उक्त संस्थाले मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकाबाट न्यानो कपडा वितरणको कार्यक्रम सुरु गरेको हो ।

गरिव तथा अति विपन्न वर्गका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पहिचान गरि न्यानो कपडा वितरण गरिएको झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गेस सापकोटाले जानकारी दिएका छन् ।

यस वर्ष झापाको बुद्धशान्ति, बाह्रर्दशी र भद्रपुर नगरपालिकामा करिव ४०० विद्यार्थीलाई कपडा वितरण गर्ने योजना रहेको झापाली समाज युएई नेपाल सम्पर्क समितिका उपाध्यक्ष पारस लामाले बताएका छन् । उनका अनुसार यसअघि झापाका आठ पालिकामा कपडा वितरण गरिएको बताए ।

झापाली समाज युएई, बुद्धशान्ति गाउँपालिका तथा एक्सल डेभलपमेन्ट बैंकको संयुक्त आयोजनामा न्यानो कपडा वितरण कार्यक्रमको सुरुवात गरिएको हो । बुद्धशान्ति गाउँपालिकाका २०० बिपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै उक्त कार्यक्रमको सुरुवात गरिएको हो ।

झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गेस सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल रहेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईं, वडा नं.३ का वडाध्यक्ष कमलप्रसाद उप्रेती, कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल, वडासदस्य नेत्र गौतम, इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज निराजन कटुवाल, एक्सल डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख दिनेश पोख्रेल, संचारकर्मी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले झापाली समाज युएईको यस्तो हरेक वर्षको अभियानको जति नै प्रशंसा गरेपनि कम हुने बताउँदै खुसी व्यक्त गर्दै गाउँपालिकाले आउँदो दिनमा समेत सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

सन् २०१५ मा स्थापना गरिएको यस संस्थाले गरिब, बिपन्न तथा असाहायकै सहयोग गर्न अक्षयकोष समेत खडा गरेको छ । जसमा १३ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भइसकेको जनाइएको छ ।

झापाली समाज युएई नेपाल सम्पर्क समितिका सदस्य गोपिकृष्ण रिजालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मनिष सुवेदीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *