Sajhamanch Archive

के हो कोरोना भाइरसको नयाँ संक्रामक रुप ? कत्तिको चिन्ताजनक ?

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना भाइरसको नयाँ संक्रामक रुप तीव्रताका साथ फैलिरहेकाले नै क्रिस्मसको समयमा इङ्ल्यान्डसहित स्कटल्यान्ड र वेल्समा कडा नियम लागू गरिने भएको छ भने, साउदी अरब, भारत, क्यानडासहित युरोपका अन्य मुलुक गरी ४० भन्दा बढी राष्ट्रले बेलायतबाट हुने सबै यात्रामाथि प्रतिबन्ध लगाइरहेका छन् ।

नेपालले पनि मंगलबार बेलायतबाट नेपाल यात्रामा रोक लगाएको छ ।

यसरी अचानक केही महिनामै भाइरस कसरी रुपान्तरित भइ बेलायतमा फैलन सुरु गर्यो त ? सरकारी सल्लाहकारहरुले अहिलेको बढ्दो नयाँ संक्रमणमा, भाइरस पहिलेको भन्दा अझ तीव्र रुपमा र छिटो सर्न सक्ने बताइरहेका छन् ।

अहिले यस सम्बन्धी अध्ययन अनुसन्धान जारी रहेको हुँदा र सुरुवाती चरणमै भएकाले पनि यो नयाँ रुपान्तरित भाइरस अनिश्चितताले भरिएको छ ।

तर समयसँगै भाइरसहरु विकसित हुनु यसको प्राकृतिक प्रवृत्ति भएको पनि वैज्ञानिकहरुले बताएका छन् । जसकारण नै यसको बदलिँदो व्यवहार र गुणबारे निरन्तर कडा निगरानी राखिरहनुपर्ने विज्ञहरु बताउँछन् ।

अहिलेसम्मको अवस्थामा वैज्ञानिकहरुले हाल प्रयोग भइरहेका कोरोना विरुद्धका खोपहरुले यसमाथि काम गर्ने विश्वास गरेका छन् यससम्बन्धी पूरै डाटा दुईहप्तामा उपलब्ध हुने बताइएको छ । तर यो नयाँ रुपान्तरित भाइरसले हर्ड इम्युनिटीको बार भने बढाइदिने अनुमान छ ।

जस्तै विभिन्न मुलुकहरुले देशका ६० देखि ७० प्रतिशत जनतामा खोप लगाउँदा संक्रमण फैलनबाट रोक्न सकिने विश्वास गरेका थिए तर यो नयाँ भाइरस पहिले भन्दा बढी संक्रामक हुन सक्ने हुँदा अझ धेरै मानिसमा खोप लगाउन आवश्यक पर्न सक्ने बताइएको छ ।

यसबारे किन बढ्दैछ चिन्ता ?

यतिबेला तीन मुख्य कुराले सबै राष्ट्र र स्वास्थ्यविद्हरुको ध्यानाकर्षण गराइरहेको छ :

– यो नयाँ रुपान्तरित भाइरसले सुरुवाति भर्सनको भाइरसलाई बढ्दो रुपमा स्थानान्तरण गरिरहेको छ ।

– यसको नयाँ रुपले भाइरसका केही महत्वपूर्ण संरचनामा प्रभाव पारिरहेको छ जसकै आधारमा अहिलेका खोपहरु निर्माण भएका छन् ।

– भाइरसमा देखिएका यी नयाँ बदलावहरु सम्बन्धी ल्याबमा गरिएको परीक्षणमा सेललाई संक्रमित गराउने यसको क्षमता वृद्धि भएको पत्ता लागेको छ ।

यी सबै तथ्यहरु जोड्दा के स्पष्ट हुन्छ भने यो नयाँ रुपान्तरित भाइरस पहिले भन्दा धेरै सजिलोगरी र छिटो सर्न सक्छ । तर यो कुरामा पनि निश्चित हुन सकिएको छैन ।

तापनि यसबारे लगत्तै सावधानी नपअनाएमा पनि यो सामान्य बन्दै जान सक्छ । बेलायतका कोभिड–१९ जेनोमिक्स भन्छन्, “यसका लागि ल्याब अनुसन्धान आवश्यक छ तर के हामी यस विरुद्ध कदम उठाउन हप्तौँ या महिनौँसम्म नतिजा पर्खिएर बस्न सक्छौँ ? पक्कै पनि अहिलेको परिस्थितिमा चाहँदैनौँ ।”

नयाँ भाइरस कत्तिको छिटो फैलिरहेको छ ?

यस किसिमको रुपान्तरित कोरोना भाइरस पहिलोपटक सेप्टेम्बरमा पत्ता लागेको थियो जसमा यसबाट संक्रमित हुने एक चौथाइ भन्दा धेरै बेलायतबाट रहेका थिए । त्यसपछि डिसेम्बरमा कोरोनाबाट संक्रमित हुने दुईतिहाइ भन्दा बढी बिरामीमा यही नयाँ स्वरुपको भाइरस देखियो । अहिले गणितविद्हरुले यसको संक्रमण दर कति उच्च सम्म पुग्न सक्ला भन्नेमा लगातार हिसाब लगाइरहेका छन् ।

तर यसमा कोरोना संक्रमण मान्छेको व्यवहारका कारण तीव्र रुपमा फैलिरहेको हो या भाइरसको नयाँ स्वरुपका कारण भन्ने छुट्याउन चाहिँ सजिलो नभएको बताइएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले उल्लेख गरेको तथ्याङ्क अनुसार नयाँ रुपान्तरित कोरोना भाइरस सुरुवातमा भन्दा ७० प्रतिशत बढी संक्रामक हुने भनिएको छ ।
तर अझै पनि यस सम्बन्धी बलियो निष्कर्ष निकाल्न पर्याप्त प्रमाण नभएको विज्ञहरुको भनाइ छ ।

कहाँकहाँ फैलिरहेको छ यस्तो भाइरस ?

अहिलेसम्म प्राप्त जानकारीका अनुसार यो नयाँ रुपान्तरित भाइरसको उत्पत्ति या त बेलायतकै कुनै बिरामीमा भएको हुनुपर्छ या बाहिरी मुलुकबाट त्यहाँ भित्रिएको हुन सक्छ जससँग कोरोना भाइरस सम्बन्धी वैज्ञानिक अध्ययन एवम् निरीक्षण गर्ने क्षमता कम छ ।

यो नयाँ स्वरुपको भाइरस नर्दन आयरल्यान्ड बाहेक बेलायतभरि फैलिरहेको छ र विशेषगरी लन्डनमा केन्द्रित रहेको पाइएको छ । त्यस्तै दक्षिणपूर्वी र पूर्वी इङल्यान्डमा पनि देखा परिरहेको छ ।

‘नेक्स्टस्ट्रेन’ले विश्वभरबाट कोरोनाको जेनेटिक कोडका भाइरल स्याम्पलहरुबारे जाँच गरिरहेको छ र यसको डाटाका अनुसार डेनमार्क र अष्ट्रेलियामा फेला परेका संक्रमितहरु पनि बेलायतबाट नै आएका थिए । त्यस्तै नेदरल्यान्ड्समा पनि यसबारे खबर गरिएको छ । उता दक्षिण अफ्रिकामा पनि यस्तै कोरोना भाइरसको नयाँ स्वरुप तर बेलायत भन्दा फरक किसिमले उत्पति भएको बताइएको छ ।

के यस्तो पहिले पनि भएको छ ?

पहिलोपटक चीनको वुहानमा पत्ता लागेको भाइरस, अहिले दुनियाँभर फैलिरहेको कोरोना भाइरस भन्दा धेरै फरक छ । गत फेब्रुअरी युरोपमा उत्पन्न नयाँ विकसित भाइरस, ‘डि६१४जी म्युटेसन’ नै अहिले विश्वव्यापी रुपमा सबैभन्दा बढी पाइन्छ । त्यस्तै युरोपमै व्याप्त अर्को स्वरुपको भाइरस चाहिँ स्पेनमा गर्मीयामको छुट्टी मनाउन गएका मानिसहरुबाट आएको बताइन्छ ।

भाइरसमा देखा परेको नयाँ बदलावहरुबारे केके पत्ता लागेको छ ?

यस नयाँ रुपान्तरित भाइरसको प्रारम्भिक विश्लेषण यसअघि प्रकाशित गरिएको थियो । यो एक वर्षको अवधिमा भाइरसको ‘स्पाइक प्रोटिन’ जसमार्फत यिनले शरीरका सेलमा प्रवेश गरि संक्रमण फैलाउँछन्, त्यसमा विभिन्न किसिमका परिवर्तनहरु देखा परेका छन् ।

यसमा भाइरसलाई शरीरमा प्रवेश गर्न सजिलो बनाइदिने परिवर्तनहरुबारे हामीले विशेष ख्याल राख्नुपर्ने हुन्छ । यसअघि जनावर, मिंकमा फेला परेको परिवर्तित भाइरसको स्वरुपलाई युनिभर्सिटी अफ क्याम्ब्रिजका प्रोफेसर रवि गुप्ताको टोलीले अनुसन्धान गर्दा ल्याबमा यसले संक्रमणलाई दुई गुणाले बढाइदिने गरेको पत्ता लगाएका थिए ।

त्यही समूहको अर्को अध्ययनमा त्यस किसिमको ‘म्युटेसन’ ले भाइरसविरुद्ध आक्रमण गर्ने एन्टिबडिजलाई पनि कम प्रभावकारी बनाइदिन सक्ने उनीहरुले बताएका हुन् । प्रोफेसर गुप्ताका अनुसार अहिले सरकार र वैज्ञानिकहरु यही कुरासँग सबैभन्दा बढी डराइरहेका छन् ।

कहाँबाट आएको हो यो ?

यो नयाँ रुपान्तरित भाइरस असामान्य तरिकाले विकसित भएको छ । यसको एक मात्र स्पष्टीकरण भनेको यो, कमजोर प्रतिरोधात्मक प्रणाली भएका भाइरसलाई हराउन नसकेका बिरामीबाट उत्पति भएको हुन सक्छ । तिनको शरीर भाइरसका लागि ‘म्युटेट’ हुने स्थल बनेको हुन सक्ने अनुमान रहेको छ ।

के यसले संक्रमणलाई अझ खतरनाक बनाइदिन्छ ?

हालसम्मको अध्ययन अनुसन्धानले यो धेरै खतरनाक हुन सक्नेबारे कुनै प्रमाण प्राप्त भएको छैन ।

यसका लागि थप परीक्षण आवश्यक रहेको बताइएको छ । तर अहिलेका लागि यसले तीव्र गतिमा संक्रमण फैलाउन सक्नु नै हाम्रा निम्ति ठूलो समस्या बन्नेछ जसको अर्थ तुलनात्मक रुपमा अझ बढी मानिसहरु बिरामी पर्ने र उपचार आवश्यक पर्ने हुँदा अस्पताललाई धान्न कठिन हुनेछ ।

यो नयाँ रुपान्तरित भाइरसविरुद्ध खोपले काम गर्नेछ ?

अहिलेका लागि चाहिँ हाल निर्मित खोपहरुले यस विरुद्ध काम गर्न सक्ने विश्वास गरिएको छ ।

हाल प्रयोगमा ल्याइएको तीनवटै प्रमुख खोपहरु स् मोडेर्ना, फाइजर, एस्ट्राजेनेका, भाइरसको ‘स्पाइक प्रोटिन’ प्रतिको इम्युन प्रतिक्रियामा आधारित भएकाले पनि यो प्रश्न उठेको छ । तर खोपहरुले हाम्रो प्रतिरोधात्मक प्रणालीलाई भाइरसका विभिन्न भागसँग लड्न अभ्यास गराउँदछ जसकारण स्पाइकको केही अंश बदलिए पनि खोपले अझै काम गर्न सक्ने जनाइएको छ ।

तर भाइरसका अप्रत्याशित बदलाव आउने क्रम यसरी नै जारी रहिरहने हो भने चाहिँ यो चिन्ताको विषय हुने प्रोफेसर गुप्ता बताउँछन् । उनले भनेका छन्, “यो भाइरस सम्भावित रुपमा अहिले खोपबाट बच्ने बाटोमा हिँडिरहेको छ र यसमा भाइरसले पहिला केही कदमहरु अघि बढाइसकेको छ ।” भाइरसले जति धेरै मानिसहरुलाई संक्रमित गराइरहेको छ त्यति नै हाम्रो वातावरणसँग अनुकूल हुने प्रयास गरिरहेको छ । त्यसको अर्थ भविष्यमा फ्लु जसरी नै खोपमा लगातार नयाँ अपडेटहरु ल्याइरहनुपर्ने हुन्छ ।                                                                                    बीबीसीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *