Sajhamanch Archive

त्रिदेवको नवौं क्याम्पस सभा सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, स्थानीय तह by .

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस चारआलीको नवौं क्याम्पस सभा आज सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं.१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर रहेकी थिइन् ।

सभामा क्याम्पस प्रमुख माधव प्याकुरेलले क्याम्पसको शैक्षिक आर्थिक तथा प्रशासनिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा क्याम्पसले भौतिक सुधारमा गत आर्थिक वर्ष २०७६/०७७ असार मसान्तसम्म १ करोड ६० लाख ६८ हजार ८७० आम्दानी गरेको र १ करोड ६२ लाख ४७ हजार ६६ रुपैयाँ खर्च भएको उल्लेख छ । त्यस्तै २०७६ असार मसान्तसम्मको अन्तिम बैंक मौज्दात १३ लाख ८१ हजार ७५६ रुपैयाँ रहेको छ ।

सभामा प्याकुरेलले क्याम्पस विश्व विद्यालय अनुदान आयोगले आव्हान गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (Quality Assurance and  Accredetation QAA) को अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रक्रियाको अन्तिम चरणमा पुगिसकेको जानकारी दिए ।

उक्त कार्यक्रममा उत्कृष्ट प्राध्यापकका रुपमा ज्ञानकुमार खतिवडा र उत्कृष्ट कर्मचारी तर्फबाट नवराज भट्टराईलाई सम्मान गरिएको थियो ।

त्यसैगरी युनिक कलेजको आयोजना तथा शिभिल बैंक,एक्सेल डेप्भलोपमेन्ट बैंक र अस्मित पब्लिकेसनको प्रायोजनमा कन्काई नगरपालिकामा भएको व्यवस्थापन संकायका क्याम्पसहरुको १७ वटा व्यवसायिक परियोजनामा दोश्रो हुने क्याम्पसका विद्यार्थीहरु मुना मिश्र,दिव्या न्यौपाने,रस्मिता राजवंशी, विनोद श्रेष्ठ र सिताराम बजगाईंलाई सम्मानित गरिएको थियो ।

त्यस्तै २०७६ सालको अन्तिम परीक्षामा उत्कृष्ट अंक ल्याउने विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु मेनुका योङ्हाङ, सुस्मिता चापागाईं, सोनिया लकान्द्री, कविता लोहार, सीताराम बजगाईं, सागर दाहाल र कविता गजुरेल तथा भलिबल तर्फ उत्कृष्ट छात्र खेलाडी विबत्स बराल र छात्रा तर्फबाट सिर्जना उप्रेतीलाई सम्मान गरिएको छ ।

क्याम्पस सभाको अवसरमा क्याम्पसले प्रकाशन गरेको त्रिदेव जरनल ( TRIDEV JOURNAL) को विमोचन समेत गरिएको थियो ।

सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि गजमेरले शिक्षालाई आर्कषणको क्षेत्र बनाउन सबैजना मिलेर अघि बढ्नु पर्ने बताइन् । स्थानीय, प्रदेश र केन्द्र सरकारले शिक्षा क्षेत्रलाई प्राथमितामा राखेर योजना बनाएको भए पनि कतिपय कार्य गर्न अझै असफल भएको जिकिर गरिन् ।

उक्त कार्यक्रममा प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी, मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, सल्लाहकार समितिका सह-संयोजक दुर्गा भट्टराई, नेपाल कम्युनिष्ट पार्टी वडा नं.१३ का अध्यक्ष खगेन्द्र सिग्देल लगायतले आ-आफना धारणा राखेका थिए ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम मरासिनीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सह-प्राध्यापक तेजप्रसाद खनालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *