Sajhamanch Archive

निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाउने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेजबाहेकका सबै निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो ।

यसअघि कोभिड अस्पतालको सूचीमा रहेका निजी अस्पतालहरूले आजसम्म भर्ना भएर उपचार गराएका कोरोना सङ्क्रमितको उपचार खर्चमात्र सोधभर्ना गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । योसँगै अब कोरोना सङ्क्रमितको उपचार सरकारी अस्पताल तथा मेडिकल कलेजहरूबाट मात्र हुने छ ।

यस्तै मन्त्रालयले सरकारी तहबाट सङ्कलन भएका नमुनाको पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई उपलब्ध गराउने काम पनि बन्द गरेको छ ।

मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबारको बैठकले बेलायतलगायत विभिन्न देशबाट फर्किएका दुई सय ७७ जनाको पीसीआर परीक्षण गरी कोरोना पुष्टि भएमा जीन सिक्वेन्सिङ पनि गर्ने निर्णय गरेको छ ।

बेलायतलगायतका विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि त्यस्ता देशबाट नेपाल आएकाहरूमा पनि कोरोनाको नयाँ प्रकार हुन सक्ने भएकोले परीक्षण गर्न लागेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *